समाचार

मन्त्रीसँग व्यवसायीका यस्ता गुनासा...

काठमाडौं, १९ साउन । नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बिहीबार वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मालाई सिंहदरवारमा भेटी उद्योगी व्यवसायीका विविध समस्याका विषयमा जानकारी गराएका छन् ।  उद्योगी व्यबसायीहरुले व्यापारीलाई थुनेर व्यापार व्यवसाय नचल्ने भन्दै सरकारलाई सचेत पारेका हुन् । गल्ती गर्ने व्यापारीलाई मात्रै कारबाही गर्नुपर्ने उनीहरुले माग राखे । चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाईमा गएको प्रतिनिधिमण्डलले प्रमाणित नभइकनै उजुरीको आधारमा व्यापारीलाई थुन्ने परिपाटीको अन्त हुनुपर्ने माग राखे । उपभोक्ता संरक्षण सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको परिच्छेद ९ को कसुर र सजाय सम्वन्धी व्यवस्थाको दफा ५१ सजाय १ को ‘ग’ मा दफा ५० को खण्ड च विपरित काम गर्ने वा गराउनेलाई १० वर्षसम्म कैद, १० वर्षसम्म जरिवाना वा दुवैको व्यवस्था भएको भन्दै त्यसलाई हटाउनुपर्ने माग उनले राखे । 
जवाफमा मन्त्री विश्वकर्माले कर तिर्ने व्यापारी देशको मेरुदण्ड भएको बताउँदै व्यापारीहरुको सल्लाह अनुसार आफू अगाडि वढ्ने आश्वसन दिएका थिए । करदाताहरुको सुरक्षा तथा विकासको पक्षमा आफू रहेको उहाँंले स्पष्ट पार्दै उनले व्यापार घाटा कम गर्न निर्यात वढाउन आफूले कोसिस थालेको जानकारी दिएका थिए । 
कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, दितिय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल, सचिव देवेन्द्रभक्त श्रेष्ठलगायतका कार्यसमिति सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।