काठमाडौं, १९ साउन । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ। बैठकले डा. वाग्लेलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनी आयोगको सदस्य थिए। सार्वजनिक वित्त, अन्तराष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ वाग्ले यसअघि सुशील कोइरालाको प्रधानमन्त्रीकालमा पनि योजना आयोगका सदस्य थिए।
अष्ट्रेलियाको नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन्। उनले विश्व बैंकको मुख्यालय वासिङ्टन डिसीमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत काम गरेका थिए। राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ। उनी २०४६ सालको व्याचका एसएलसीका वोर्ड सेकेन्ड हुन्। २०३१ सालमा गोरखामा जन्मिएका वाग्ले योजना आयोगको उपाध्यक्षमा पुग्ने सम्भवतः सबैभन्दा कम उमेरका योजनाविद् हुन्।
यसैबीच सरकारले ९ जना डिआइजीलाई एआइजीमा बढुवा गरेको छ। एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन्।
एआईजीमा बमबहादुर भण्डारी एक नम्बरमा बढुवा भएका छन् भने दोस्रो नम्बरमा जयबहादुर चन्द परेको छन्। यस्तै, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द, र विजयकुमार भट्ट पनि एआईजीमा बढुवा भएका छन्। यसअघि, बढुवा समितिले गत असार ३० गते ११ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको थियो।
सरकारले ९ जनाको दरबन्दी रहेको एआईजीको दरबन्दलाई बढाएर ११ पुर्याएको थियो। डीआईजीको पहिलो नम्बरमा रहेको नवराज सिलवाल भने एआईजीको बढुवाको सूचीमा परेका थिएनन्।
यस्तै सरकारको सुरक्षा सल्लाहकारमा पूर्वएआईजी सुरेन्द्रबहादुर शाह नियुक्त भएका छन् । मन्त्रीपरिषदको बैठकले गृहमन्त्री जनार्दन शर्माको सुरक्षा सल्लाहाकारमा शाहलाई नियुक्त गरेको हो । उनी पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालसँगै रिटायर्ट भएका थिए । सरकारको निर्णयसँगै अब उनले गृहमन्त्रालयमा अब सुरक्षा विज्ञको रुपमा काम गर्नेछन् ।
Comments