काठमाडौं, १७ साउन । साउन महिनाभर बोलबम यात्रीसँगै हरेक सोमबार देशभरका शिवालयमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । काठमाडौं लगायतका मुख्य शहरका शिवालयमा झन बोलबम यात्री भरिभराउ हुन्छन् । काठमाडौंमा साउन महिनाको तेस्रो सोमबार मात्रै ५० हजार बढी बोलबम यात्रीले सुन्दरीजलस्थित वाग्मती नदीबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गरेका छन् ।
भोलेनाथ काँवरिया संघको आयोजनामा भएको सुन्दरीजल–पशुपति बोलबम यात्रामा बालकदेखि वृद्धसम्मले खाली गोडा ११ किमी हिँडेर जल अर्पण गरेका थिए । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । अठार वर्षअघिदेखि सुन्दरीजल–पशुपति बोलबम मेला सुरु भएको हो ।
सुरुमा तराई÷मधेशका मानिस मात्र सो यात्रामा सहभागी हुने गरेकामा अहिले पहाडी समुदायका मानिसको संख्या पनि उल्लेख्य रुपमा बढ्न थालेको छ । तराईबासीले शिव मन्दिरमा शुद्ध जल चढाउँथे भने पहाडमा साउन महिनामा घरमै रुद्राभिषेक गर्ने प्रचलन थियो । तराई मूलका मानिसले सुन्दरीजल–पशुपति बोलबम यात्रा गरेको देखेर आफू यात्रामा पाँच वर्षदेखि सहभागी हुँदै आएको जोरपाटीका प्रल्हाद पुडासैनीले सुनाए ।
पहेँला कपडामा सजिएका बोलबम यात्री खाली गोडा ठूलो स्वरमा ‘बोल बम’ अर्थात् ‘शिव भन्’ भन्दै ११ किमी यात्रा गर्दा बाग्लुङबाट काठमाडौँ आई अध्ययन÷अध्यापनमा लाग्नुभएकी इन्दिरा राना मगरलाई पनि आकर्षित गर्यो । उनले आफू सात वर्षदेखि साउनको सोमबार सुन्दरीजल–पशुपति बोलबम यात्रामा सहभागी हुँदै आएको सुनाए ।
Comments