समाचार

ललितपुर जिल्ला स्काउटको स्वर्ण महोत्सव

नवनिर्वाचित नगरप्रमुख र स्काउट गुरुको सम्मान

बलराम प्यासी
ललितपुर । ललितपुर जिल्ला स्काउटको स्थापनाको स्वर्ण महोत्सव प्रवेशको अवसरमा जिल्ला स्काउटले ललितपुर महानरगपालिकाका नवनिर्वाचित नगरप्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गिता सत्याल र वडाध्यक्षसहित जिल्ला स्काउटका संस्थापक स्काउट गुरुहरुको सम्मान गरेको छ । २०२४ असार १७ गते जिल्ला स्काउटको स्थापना भएको थियो । 
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीवाबु महर्जनले त्रिपद्य स्काउट ट्रुपका साथै ललितपुर ओपन स्काउट ट्रुपका संस्थापक रामेश्वर थापालाई सम्मान गर्नुका साथै जेष्ठ स्काउट गुरुहरु प्रा.गोविन्द नारायण ज्यापू, श्रीमती रामवदन जोशीलगायतलाई अभिनन्दन गरेका थिए । 
सो अवसरमा जिल्ला स्काउट स्थापनाको स्वर्ण महोत्सव प्रवेशको अवसरमा नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरदेखि र जिल्ला स्काउटको झण्डा बोकी दौडेर आएका स्काउट लिडर प्रकाशराज पाण्डेले सो झण्डा नगरप्रमुख महर्जनलाई हस्तान्तरण गरेका थिए । 
यसअघि ५ हजार ४९० मिटर अग्लो वेडेन पावेल हिमाल चढिसकेका पाण्डेलाई आगामी हिमाल आरोहणको मौसममा सगरमाथा आरोहणको लागि महानगरपालिकाको तर्फबाट आवश्यक आर्थिक सहयोग गर्ने पनि नगरप्रमुख महर्जनले प्रतिवद्धता व्यक्त गरे । पाण्डे युएन हयाबिट्याट फर ह्युमानिटीको युथ एम्बेसडर पनि हुन । 
नगरप्रमुख महर्जनले स्वर्ण महोत्सवमा आयोजित नृत्यलगायतका प्रतियेगिताका विजयी स्काउट समूहलाई पुरस्कार र पदक प्रदान गरे । नगरप्रमुख श्रेष्ठले ललितपुर जिल्ला स्काउटको योगदानको चर्चा गर्दै जिल्ला आयुक्त श्ररिाम लामछिानेले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा स्काउटको विकासको लागि गरेको योगदानको चर्चा गर्दै उनको सम्मानमा महानगरपालिकाले एउटा सम्मान कार्यक्रम आयोजना गर्ने वचनवद्धता व्यक्त गरे । 
कार्यक्रममा नेपाल स्काउटका निवर्तमान प्रमुख आयुक्त एवम् जिल्ला आयुक्त श्रीराम लामछिानेले ललितपुर जिल्ला स्काउटले ५० वर्षसम्म गरेका महत्वपूर्ण कृयाकलापको बारेमा जानकारी गराउँदै स्वर्ण महोत्सव वर्षभरी विभिन्न कार्यक्तम आयोजना गर्ने बताए । जिल्ला स्काउटमा १० जना स्काउट सम्मिलित आपत्कालिन सहयोग समूह गठन गर्नुको साथै जिल्लाको आफ्नै तालीम केन्द्र बनाउन जग्गा खरीद गर्ने र ललितपुरमा राष्ट्रियस्तरको क्याम्प सञ्चालन गर्ने बताए । 
स्वर्ण महोत्सवको अवसरमा शनिबार साँझ मंगलबजारस्थित कृष्णमन्दीरमा आयोजित विशेष द्धिप प्रज्वलन कार्यक्रमको जिल्ला आयुक्त लामिछानेले उद्घाटन गरेका थिए । 
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट २०२४ साल असार १७ गते विधिवत्रुपमा स्विकृति लिएर ललितपुर जिल्ला स्काउट स्थापना गरिएको थियो । २०२० साल अगाडि ललितपुरमा एकदुईजना स्काउट मास्टरले तालीम लिई ट्रुप सञ्चालन गरेको भन्ने गरेको सुनिएतापनि यसको कुनै लिखित दस्तावेज भेटिएको छैन । 
तत्कालिन स्काउट मास्टरहरु रामेश्वर थापा र उपेन्द्र श्रेष्ठ मिलेर त्रिपद्य विद्याश्रम स्कुलमा स्काउट ट्रुप सञ्चालन गरेको र सो ट्रुपका स्काउटलाई नेपाल स्काउटका तत्कालिन राष्ट्रिय आयुक्त रणधीर सुब्बाबाट दिक्षा दिइएको थियो भन्ने इतिहास रहेको छ । यसरी त्यो ट्रुप नै ललितपुर जिल्लाको पहिलो आधिकारीक ट्रुप रह्यो ।
दिक्षान्त समारोहमा नेपाल स्काउटका तत्कालिन फिल्ड कमिस्नर प्रा.गोविन्द नारायण ज्यापू र राष्ट्रिय संगठन आयुक्त केशवलाल नेपाली (हाल स्वर्गीय) पनि उपस्थित थिए ।
त्रिपद्य स्काउट ट्रुपबाट तालीम लिएका सदस्यहरुले नै २०२३ सालमा ललित ओपन स्काउट÷रोभर क्रयु सञ्चालन गरेको र सोही समूहले नै ललितपुरमा स्काउट अभियानलाई व्यापकता दिने काम भएको र सोही अभियानलाई संगठनवद्ध रुपमा अघि बढाउन ललितपुर जिल्ला स्काउटको स्थापना भएको पाइन्छ । 
२०२४ सालमा ललितपुर जिल्ला स्काउटको स्थापना गर्न तत्कालिन स्काउट मास्टरहरु रामेश्वर थापा, रोभर स्काउट श्रीराम लामछाने, समाजसेवी रत्नमान तुलाधर, रत्नमान शाक्य, डा.कुमार शमसेर राणाको भूमिका स्मरणयोग्य छ । 
स्थापनाको ५० वर्षमा पुग्दा ललितपुर जिल्ला स्काउट आर्थिकरुपमा सक्षम र आत्मनिर्भर भईसकेको छ भने स्काउटका कृयाकलाप र गतिविधिमा पनि जिल्ला स्काउट अग्रणी रहेको कुरामा दुईमत छैन । सानो ठाउँबाट शुरु भएको यस जिल्ला स्काउटले आफ्नै जग्गामा वहुतल्ले भवन बनाई वार्षिक लाखौं रुपैयाँ कमाएर आत्मनिर्भर बन्न सकेको हो । सीमित संख्याबाट शुरु भएको ललितपुर जिल्ला स्काउटमा अहिले ६ हजार स्काउट सदस्य रहेका छन ।
यतिमात्रै नभई यस जिल्लाले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउने वरिष्ठ स्काउट उत्पादन गराउने काम शुरु गरेको छ । यस जिल्लाका जिल्ला आयुक्त श्रीराम लामिछाने नेपाल स्काउटको प्रमुख आयुक्त हुनुका साथै विश्व स्कउट संगठनको एशिया प्रशान्त क्षेत्रको उपाध्यक्ष जस्तो गरिमामय पदमा समेत पुग्नुभएको थियो ।
स्काउट गतिविधिमा २०४१ सालमा ललितपुर जिल्ला क्याम्पोरी, २०५७ सालमा गोदावरीमा राष्ट्रिय स्काउट क्याम्प,२०६० सालमा गोदावरीमै दोस्रो राष्ट्रिय क्याम्पोरी तथा २०६५ सालमा अर्काे स्काउट क्याम्पको आयोजना गरि स्वदेश तथा विदेशका स्काउटहरुलाई सहभागी गराइयो । 
ललितपुर जिल्ला स्काउट स्थापनाको स्वर्ण महोत्सवको अवसरमा जिल्ला स्काउटले वर्षभरी नै विभिन्न कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाउने निर्णय गरेको छ । यस अवसरमा यो वर्ष देशभरीका स्काउट ट्रुपका एकएकवटा पेट्रोल (समूह)को सहभागितामा एउटा भव्य स्काउट क्याम्पको आयोजना गर्ने, जिल्ला स्काउटको स्थापनामा विशिष्ट योगदान गर्ने संस्थापकहरुलाई सम्मान गर्ने तथा ललितपुर जिल्लाको आफ्नै तालीम केन्द्र स्थापनाका लागि उपयुक्त ठाउँमा जग्गा खरीद गर्ने योजना बनाइएको छ ।