दोस्रो चरणको चुनाव उत्साहजनक र शान्तिपूर्ण
काठमाडौं, असार । स्थानीय तहको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साहजनक मतदान भएको छ । निर्वाचन आयोगले बुधबार भएको तीन वटा प्रदेशको निर्वाचनमा ७०.५ प्रतिशत भन्दा बढी मतदान भएको जनाएको छ ।
प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा चुनाव सम्पन्न भएको हो । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पहिलो चरणमाजस्तै दोस्रो चरणमा पनि उत्साहजनकरुपमा मतदान भएको बताए । पहिलो चरणमा ७३ प्रतिशत मतदान भएको थियो ।
सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा वैशाख ३१ गते निर्वाचन सम्पन्न भएको थियो ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव शान्तिपूर्णरुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । उनले प्रदेश नम्बर दुईको चुनाव पनि तोकिएकै मितिमा हुने विश्वास व्यक्त गरेका छन् । उनले आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका मागलाई सम्बोधन गरी चुनावमा सहभागी गराउने विश्वास राखेका छन् ।
दोस्रो चरणको चुनावमा ६२ हजार ४०८ उम्मेदवार मैदानमा छन् । १५ हजार ३८ जना जनप्रतिनीधि चयन हुँदैछन् । ३५ जिल्लाका ३३४ स्थानीय तहमा चुनाव भएको हो । जसमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाँउपालिकामा चुनाव शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
जसमा प्रदेश नम्वर १ का १४ जिल्लामा चुनाव भएको हो जहाँ जहाँ १३७ स्थानीय तह छन् । महानगर–१, उपमहानगर २, नगरपालिका ४६ र गाउँपालिका ८८ छन् । ११५७ वडा रहेको एक नम्वर प्रदेशमा १८३१ मतदान स्थल तय गरिएका थिए भने ३४५९ मतदान केन्द्र तोकिएको थियो । १ नम्वर प्रदेशमा २६ लाख ७२ हजार पाँच सय ६३ मतदाता थिए ।
प्रदेश नम्वर ५ मा १२ जिल्ला छन्, जसमा नवलपरासी र रुकुमका केही भाग पनि छन् । यहाँ १०९ स्थानीय तह अन्तर्गत उपमहानगरपालिका ४, नगरपालिका ३२ र गाउँपालिका ७३ छन् । यो प्रदेशमा १६१२ मतदान स्थाल र ३१२५ मतदान केन्द्र तोकिएको थियो । जहाँ २४ लाख ५४ हजार चार सय ८८ मतदाता थिए ।
यसबाहेक बुधबार नै चुनाव सम्पन्न भएको ७ नम्वर प्रदेशमा ९ जिल्ला छन् । जहा जम्मा ८८ स्थानीय तह छन्, जसमा उपमहानगर १, नगरपालिका ३३ र गाउँपालिका ५४ छन् । यहाँ ७३४ वडा छन्, ११०८ मतदान स्थल तोकिएको थियो भने १७८० मतदान केन्द्र तोकिएको थियो । जहाँ मतदाता सख्या १३ लाख तीन हजार सात सय १४ छ ।
Comments