ललितपुर, असार । समयमै आफ्नो स्वास्थ्य जाँच गराई उपचार गर्न नसक्दा अकालमै सर्वसाधारणको मृत्यु हुने गरेको पाइन्छ । क्यान्सर लागेको पहिलो र दोस्रो अवस्थामा (चरणमा) मात्रै थाहा पाएर उपचार गर्न सकेमा रोग निको हुने र उनीहरुको ज्यान बच्ने विशेषज्ञ चिकित्सक बताउँछन ।
विशेषगरि महिला र जेष्ठ नागरिकहरुमा क्यान्सर भए नभएको पत्ता लगाई समयमै उनीहरुको उपचार गराउन सघाउने उद्धेश्यले जाउलाखेलस्थित नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टरले शनिबार सो अस्पताल हातामा एकदिने निःशुल्क स्वास्थ्य शिवीरको आयोजना गर्यो ।
स्त्रीरोग, महिलाहरुको स्तन, पाठेघरको मुखको क्यान्सर तथा पुरुषहरुमा पेट, फोक्सो तथा आन्द्राको क्यान्सर भएनभएको पत्ता लगाउन उनीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुको साथै थाइराइड परीक्षण, ट्युमर मार्कर र म्यामोग्रामको परीक्षणमा ३० देखि ५० प्रतिशतसम्म छुट दिएर सेवा उपलब्ध गराएको सो अस्पतालका अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.मदनकुमार पियाले बताए ।
क्यान्सररोग विशेषज्ञ डा.पियाको साथै सो अस्पतालका डा. ज्योति रायमाझि, डा. सन्ध्या चापागाई, डा. अजय आचार्य, डा. दिपेन्द्र परियार, डा.शुशिला वैद्य, डा. सौजन्या कर्माचार्य लगायतका चिकित्सकले निःशुल्क सेवा उपलब्ध गराएको सो शिवीरमा ३०० जना महिला तथा पुरुषको स्वास्थ्य जाँच गरिएको थियो ।
शनिबार जाँच गराइएका मध्ये केहीमा क्यान्सरको लक्षण देखिएको उल्लेख गर्दै अब उनीहरुको समयमै आवश्यक उपचार हुने पनि अध्यक्ष डा.पियाले बताए ।
Comments