समाचार

चन्द्रागिरी घुम्न पाएपछि जेष्ठ नागरिक दंग...

काठमाडौं, ६ असार । उमेरले नेटो काटेपछि भएर यताउति जान नसक्दा दिक्क भएका जेष्ठ नागरिक सोमबारको दिन भने चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गर्न पाउँदा र केवलकारमा हुँईकिन पाउँदा निकै दंग देखिन्थे ।
प्रौढ कल्याण संघमा दिवा सेवामा आउने गरेका ४८ जना जेष्ठ नागरिक सोमबार संस्थाको आयोजनामा चन्द्रागिरी डाँडामा गएर केवलकार चढेका थिए । जेष्ठ नागरिकको लागि बसको यात्राको व्यवस्था संस्थाकी अध्यक्ष प्रा इश्वरी स्वारले व्यक्तिगत खर्च गरी मिलाएकी थिइन भने उनीहरुलाई दिउँसोको खाजा जुस र विस्कुट संस्थाले नै व्यवस्था गरेको थियो । 
पहिलोपटक केवलकार चढेकी ८२ वर्षिया लक्षमीमाया डाँगी यो उमेरमा केवलकार चढ्न पाउँदा दंग हुँदै संस्थाकी अध्यक्ष प्रँध्यापक स्वारलाई आर्शिवाद दिँदै थिइन ।
संस्थाले त्यहाँ रहेका जेष्ठ नागरिकलाई वर्षमा २र३ पटक नयाँ ठाउँ र मन्दीरमा घुमाउन लैजाने कार्यक्रम अन्तर्गत यो वर्षको पहिलो कार्यक्रमको रुपमा चन्द्रागिरी केवलकार र भालेश्वर महादेव मन्दीरमा लगेको अध्यक्ष प्रा.स्वारले बताइन । 
२०४८ सालमा स्थापित सो संस्था नयाँबानेश्वर देवकीनगरमा एउटा अस्थायी आवास बनाएर बानेश्वर क्षेत्रका ६५ जना जेष्ठ नागरिकलाई भजनकिर्तन र धार्मिक कार्यमा सहभागी गराउँदै आएको छ । 
बुढ्यौलीमा घरमा एक्लिएर बस्नुभन्दा आफ्नो उमेरका समकक्षीसंग आफ्ना कुरा सुनाउँदै र उनीहरुका कुरा सुन्दै धर्मकर्ममा लाग्दा निरोगी हुने र आयु पनि बढ्ने अध्यक्ष प्रा.स्वारले बताइन । कार्यक्रममा जेष्ठ नागरिक महासंघका अध्यक्ष एवम वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दास पनि सहभागी थिए ।