काठमाडौं, १८ जेठ । सौर्यमण्डलमा पृथ्वीजस्तै अर्काे ग्रह ग्लिजा ए ३२ पत्ता लगाउने नेपाली वैज्ञानिक÷खगोलशास्त्री प्रा.डा.सुमन सत्याल नेपाल आउँदा पनि फुर्सदमा बस्न भ्याएनन् । नीजि कामका लागि नेपाल आएका उनले काठमाण्डौ र भक्तपुरका विभिन्न विद्यालयका माध्यमिकस्तरका एकहजारभन्दा बढी विद्यार्थीसंग आफ्नो अनुसन्धानबारे अनुभव वाँड्न भ्याए ।
यसैवीच बुधबार उनले नयाँ बानेश्वरको काव्य स्कुलका विद्यार्थीलाई आफ्नो अनुभव मात्रै सुनाएनन, विद्यार्थीहरुलाई आआफ्नो रुचि र क्षमता अनुसारको नयाँ खोज गर्न पनि हौस्याए । ‘पढाईमा मात्रै सीमित भएर बस्नु हुँदैन, आफ्नो भित्री इच्छाअनुसारको विषयमा दत्तचित्त भएर लागेपछि त्यसमा आफु सफल भइन्छ’ वैज्ञानिक सत्यालले भने ।
काव्य स्कुलका माध्यमिक तहका संयोजक चिरञ्जीवी दवाडीको संयोजकत्वमा भएको विद्यार्थी—वैज्ञानिक अन्तरसंवाद कार्यक्रममा संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले वैज्ञानिक प्रा.सत्याललाई स्वागत गर्दै विद्यालयको तर्फबाट उपहार दिएका थिए ।
जो विद्यार्थी भविष्यमा वैज्ञानिक बनेर केही खोजी गर्न चाहन्छ भने आफ्नो ठाउँबाट प्राविधिक,नैतिक जस्तोसुकै सहयोग गर्न आफु हरदम तयार रहेको उल्लेख गर्दै वैज्ञानिक प्रा.सत्यालले वैत्रानिक बन्न चाहने विद्यार्थीलाई हौसला दिए ।
वैज्ञानिक प्रा.सत्यालले काव्य स्कुलका विद्यार्थीसंग मात्रै होइन कोटेश्वरको ग्रामर पब्लिक स्कुल, शान्तिनगरको बेबिलोन नेशनल स्कुल, भक्तपुरको सैनिक महाविद्यालय, एसओएस वालग्रामका केटाकेटी लगायत हजार भन्दा बढी विद्यार्थीलाई प्रोजेक्टरमार्फत आफनो अनुभव बाँडेका थिए । कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी उनले आफ्नो वैज्ञानिक खोजबारे बताएका हुन । ‘माध्यमिक तहका विद्यार्थीहरु विज्ञानमा बढी चासो राख्छन’—उनले भने ।
नयाँ खोज र अनुसन्धान गर्ने क्रममा गतवर्षको मार्च महिनामा उनले नयाँ ग्रह ग्लिजा ए ३२ पत्ता लगाएका थिए । सो ग्रहमा वस्ती बसाउन मिल्छ या मिल्दैन यसबारे भने थप अनुसन्धान गररहेको उनले बताएका छन् । सौर्यमण्डलभित्रका थप नयाँ ग्रह र उपग्रह खोज्ने क्रममा उनले सो ग्रह पत्ता लगाएका थिए ।
अमेरिकाको टेक्सास विश्वविद्यालय अर्लिङ्गटनका ३२ वर्षिय वैज्ञानिक सत्याल नीजि कामको सिलसिलामा नेपाल आएका थिए । भविष्यमा आफुले नेपालमा अत्याधुनिक टेलिस्कोप बनाई नेपालबाटै नयाँ ग्रहहरु खोजी गर्ने कुरा विद्यार्थीलाई बताएका छन् ।
Comments