काठमाडौं– सरकारले संविधान कार्यान्वयन, निर्वाचन, पुनर्निर्माण र आर्थिक विकासलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहीबार व्यवस्थापिका संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा संविधानले तोके अनुसार निर्वाचन, संविधान कार्यान्वयन, पुनर्निर्माण र आर्थिक विकासमा जोड दिने बताइन्।
निर्वाचन आचार संहिताका कारण बजेटमा नयाँ कार्यक्रमहरु प्रस्तुत गर्न नपाइने भएकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिइने राष्ट्रपति भण्डारीले बताइन्। उनले संविधान अनुसार २०७४ माघ ७ गतेभित्र प्रदेश र संघको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिइन्। जेठ ३१ गतेभित्र स्थानीय तहको निर्वाचन गर्ने र बाँकी निर्वाचन माघसम्म गर्ने उनले बताइन्।
निर्वाचनपछि तीन तहको सरकारको अवधारणा संस्थागत हुने निश्चित भएको भन्दै राष्ट्रपति भण्डारीले ठूला साना सबै दल मिलेर फराकिलो तहको राष्ट्रिय एकता सुदृढ गर्ने राष्ट्रपति भण्डारीले बताइन्। भूकम्प पश्चातको पुनर्निर्माण र नवनिर्माणलाई तिब्रता दिई भूकम्प पीडितको पुनर्स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ। पुनर्निर्माण प्राधिकरणको क्षमता विकास गर्नुका साथै स्थानीय तहलाई पुनर्निर्माणान सहभागी गराइने राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन्।
Comments