समाचार

पृथ्वीजस्तै अर्काे ग्रह पत्ता लगाउने नेपाली वैज्ञानिक प्रा.सत्याल स्वदेशमा

काठमाण्डौ, ९ जेठ । सौर्यमण्डलमा पृथ्वीजस्तै अर्काे ग्रह ग्लिजा ए ३२ पत्ता लगाउने पहिलो नेपाली वैज्ञानिक÷खगोलशास्त्री प्रा.डा.सुमन सत्याल यतिखेर नेपालमा छन् । अमेरिकाको टेक्सास विश्वविद्यालय अर्लिङ्गटनका ३२ वर्षिय प्राध्यापक डा.सत्याल नीजि कामको सिलसिलामा एकमहिनाको लागि नेपाल आएका हुन् ।
अनुसन्धानका क्रममा गतवर्षको मार्च महिनामा उनले नयाँ ग्रह ग्लिजा ए ३२ पत्ता लगाएका थिए । सो ग्रहमा वस्ती बसाउन मिल्छ या मिल्दैन यसबारे भने उनी थप अनुसन्धान गर्दैछन् ।सौर्यमण्डलभित्रका थप नयाँ ग्रह र उपग्रह खोज्ने क्रममा उनले सो ग्रह पत्ता लगाएका थिए ।
नेपाल बसाईका क्रममासोमबार प्रा.डा.सत्यालले वरिष्ठ पत्रकार बलराम प्यासीको संयोजकत्वमा राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलका कक्षा ९ र १० का विद्यार्थीलाई सौर्यमण्डल र नयाँ ग्रहबारे जानकारी गराए । विद्यार्थीहरुले पनि उनको कुरालाई ध्यान दिएर सुन्दै विज्ञान र खगोलशास्त्रका विभिन्न विषयमा प्रा.डा.सत्यालसंग अन्तरसंवाद गरे । युवा वैज्ञानिक प्रा.डा.सत्यालको वैज्ञानिक अनुसन्धानपछि बेबिलोनका कति विद्यार्थीहरु आफु भविष्यमा वैज्ञानिक बन्ने सोच राखेको पनि बताए । आफ्नो अनुभव विद्यार्थीहरुसंग वाँड्न पाएकोमा युवा वैज्ञानक डा.सत्याल पनि दंग देखिन्थे ।
यसअघि प्र.डा. सत्यालले आफु नेपालमा विद्यालय शिक्षा हासिल गर्दाका आफ्ना गुरु एवम् अभिभावक खगेन्द्रकुमार नेपालको अनुरोधमा एसओएस वालग्राम सानोठिमीका साना केटाकेटीसंग आफ्नो अनुसन्धानबारे बताएका थिए ।
नेपाल खगोलशास्त्री समाज नासोका सल्लाहकार समेत रहेका वैज्ञानिक प्रा.सत्याल १८ वर्षको उमेरमा विज्ञान विषय अध्ययनको लागि अमेरिकाको टेक्सासमा गएका थिए । उनले भौतिक शास्त्र (फिजिक्स) मा स्नातक र स्नातकोत्तर गर्दै खगोल विज्ञानमा पिएचडी गरेका छन् । नवीनतम खोज गरेवापत उत्कृष्ट वैज्ञानिकको सम्मान गर्दै संयुक्त राज्यअमेरिकाले उनलाई अमेरिकामा स्थायी वसोवासको अनुमति दिएको छ ।
विज्ञानको क्षेत्रमा उल्लेखनीय योगदान गरी नेपाल र नेपालीको शिर उँचो राख्न विशेष योगदान गरेका कारण गतवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले १ लाख रुपैयाँ राशीको राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाएका थिए । डा.रामप्रसाद सत्याल र गोमादेवी सत्यालका जेठा छोरा वैज्ञानिक प्रा.सुमन सत्याल सन् २०१० अर्थात सात वर्ष अघिदेखि टेक्सास विश्वविद्यालय अर्लिङ्गटनमा प्राध्यापन गर्दै आएका छन् ।
नेपाल बसाईका क्रममा उनले नेपाल खगोलशास्त्री समाजको समन्वयमा त्रिभुवन विश्वविद्यालयका खगोलशास्त्रका २ विद्यार्थीलाई पिएचडिको लागि सघाउने पनि छन् । भविष्यमा आफुले नेपालमा अत्याधुनिक टेलिस्कोप बनाई नेपालबाटै नयाँ ग्रहहरु खोजी गर्ने बताएका छन् ।