समाचार

वीरगन्ज र विराटनगर महानगरपालिका, २२ स्थानीय तह थपिए

काठमाडौं, ९ जेठ ।  सरकारले तराई मधेसका १२ जिल्लामा २३ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २३ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको हो । त्यसैगरी विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाई महानगर बनाउने र २४ वटा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ । उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो । 

कार्यदलले राष्ट्रिय जनता पार्टी नेपालसँग सहमतिमा नै स्थानीय तहको संख्या बढाउने प्रस्ताव गरेको थियो । यसमा राजपा नेपालको सहमति रहेको नेताहरूले बताएका छन् । सरकारले विराटनगर र वीरगन्जलाई महानगरमा स्तरोन्नती गरिएको छ । २३ स्थानीय तह थप गरिए पनि वीरगन्जलाई महानगर बनाउने क्रममा बेल्वा गाउँपालिका गाभिएकाले बढ्ने संख्या २२ हो । विराटनगरलाई महानगर बनाउन बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा जदाह गाउँपालिकाको एक वडालाई गाभिएको छ । यो निर्णयसँगै मुलुकमा महानगरको संख्या ६ पुगेको छ । साथै देशभर स्थानीय तहको संख्या ७ सय ६६ भएको छ । 

मन्त्रिपरिषद् बैठकले सर्लाही, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा ३–३ वटा स्थानीय तह थप गरेको हो । सुनसरी, पर्सा र रौतहटमा २–२ वटा स्थानीय तह थप भएको छ । तर, पर्साको एउटा स्थानीय तह वीरगन्जमा गाभिएकाले त्यहाँ बढ्ने एक मात्र हो । यस्तै बारा, सप्तरी, धनुषा, बाँके र कैलालीमा पनि १–१ स्थानीय तह थप भएको छ ।  बैठकले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को राष्ट्रिय कार्ययोजना अवधारणालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।