न्यूयोर्क, जेठ । न्यूयोर्कमा नेपालीहरुको गौरव एवम् पहिचानको रुपमा स्थापित हुँदै गएको नेपाल डे परेड भव्यरुपमा सम्पन्न भएकाे छ । नेपाली राष्ट्रिय झण्डा, नेपाली कला संस्कृति, मौलिक परम्परा तथा झाँकीसहित सडकमा उत्रिएका नेपालीहरुको भीडले माहोल पृथक बन्नुका साथै मातृभूमिप्रति माया छताछुल्ल पोखिएको थियो ।
नेपाल डे परेडमा नेपाली पोशाकमा सजिएर बालबालिकादेखि वृद्धवृद्धासम्म उपस्थित भएका थिए । उनीहरुमा सहभागिता, सक्रियता र ऐक्यबद्धताको भाव प्रष्ट झल्किएको थियो । त्यस्तै, न्युयोर्क राज्यभन्दा बाहिरबाटसमेत उत्साहपूर्वक सहभागिता रहँदा कार्यक्रमको रौनक झन थपिएको थियो ।
प्रमुख अतिथिको रुपमा अमेरिका आउनुभएका उद्योगमन्त्री नविन्द्रराज जोशीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सफल बनाउन नेपाली महाबाणिज्यदुतवास न्युयोर्क, ग्रयाण्ड मार्शल मिङमा किपा शेर्पा, विभिन्न संघ संस्था र न्यूयाेर्कमा रहँदै आएको नेपालीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरे ।
बुद्ध जयन्ती तथा गणतन्त्र दिवसको अवसर पारेर दोश्रो नेपाल डे परेड २०१७ को आयोजना गरिएको हो । प्रवासमा नेपालीहरुको पहिचान र डायस्पोराको ऐक्यबद्दताको रुपमा परिचित हुँदै गएको नेपाल डे परेडको प्रमुख उद्देश्य नेपालीहरुलाई अमेरिकी मुलधारमा समाहित गराउनु पनि हो । त्यस्तै नेपाली डायस्पोरालाई अन्य अमेरिकी समुदायमाझ चिनारी गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गराउनु पनि नेपाल डे परेडको उद्धेश्य रहेको आयोजकको भनाइ छ । गत वर्षबाट थालिएको परेडले अनन्तकालसम्म नेपाल र नेपालीहरुको गौरवको रुपमा निरन्तरता प्राप्त गर्ने आयोजकले विश्वास लिएको छ ।
दोश्रो नेपाल डे परेड पूर्ण रुपमा सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण संघ सस्था, ब्यबसायी, शुभेच्छक, स्थानीय निर्वाचित प्रतिनिधिहरु, स्वयमसेवक एवम् पत्रकारहरुप्रति आयोजकले आभार प्रकट गरेको छ ।
Comments