समाचार

पाकिस्तानी विद्यार्थीको लागि काव्यको मःम र बारा

काठमाण्डौ, २६ बैशाख । पकाउने कला सिक्दै आफ्ना भर्खर साथी बनेका पाकिस्तानी विद्यार्थीलाई नेपाली परम्परागत खाजा बनाउन सिकाउन काव्य स्कुल नयाँबानेश्वरका कक्षा ७ का विद्यार्थीले विद्यालयमा आफैंले खाजा बनाएका छन् ।  केही महिनाअघि मात्रै काव्यका विद्यार्थीले पाकिस्तानको सरकारी विद्यालय (GHS No.1 Ghakhar, Pakistan) का कक्षा ७, ८ र ९ का विद्यार्थीलाई इन्टरनेट मार्फत साथी बनाएका थिए । तिनै पाकिस्तानी साथीलाई नेपाली खाजा बनाउन सिकाउन उनीहरु आफैंले (खाना पकाउन सिकाउने कला) रेसिपी बनाएर सोही अनुसार खाजा बनाएका थिए । 
विद्यार्थीले कुखुराको मासुको मःम, मासको बारा (रोटी) र कालो भटमास भुटेर खाजा तयार गरेका थिए । काव्यका विद्यार्थीले खाजा बनाएको भिडियो खिचेर इन्टरनेट मार्फत पाकिस्तानी विद्यार्थीलाई पठाइएको विद्यालयका सेकेण्डरी इन्चार्ज चिरन्जीवि दुवाडीले बताउनुभयो । आफुहरुले तयार गरेको खाजा विद्यालयका शिक्षा र विद्यार्थीहरुले बाँडेर खाएका थिए ।  

केहीदिन पछि पाकिस्तानका विद्यार्थीहरुले पनि त्यहाँको खाजा बनाउने तरीका सिकाएर इन्टरनेटमार्फत भिडियो पठाउने पनि इन्चार्ज दुवाडीले बताउनुभयो । त्यतिमात्रै नभई कँव्यका विद्यार्थीहरुले माटोको भाडा समेत बनाएर त्यसको पनि भिडियो खचेर पाकिस्तान पठाएका छन् । माटोको खेलौना, सजावटका सामानहरु बनाउन विद्यालयले भक्तपुरबाट २५ किलो मुछेको माटो किनेर ल्याएको थियो ।  
काव्यका विद्यार्थी र पाकिस्तानको सरकारी विद्यालयका विद्यार्थीहरुवीच इन्टरनेट र स्काइपमार्फत दुबै देशको भाषा, संस्कृति र रहनसहनका बारेमा आफ्ना अनुभव आदानप्रदान भईरहेको छ ।  
काव्य स्कुलले ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्डको लागि गतवर्षको अगष्ट महिनादेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअनुसार गत शैक्षिक वर्षमा काव्य स्कुलले बुद्धनगर बानेश्वरको सामुदायीक विद्यालय बुद्धनगर निमाविका विद्यार्थीलाई काव्य स्कुलमा ल्याएर शिक्षा दिने र आफ्ना विद्यार्थीलाई बुद्धनगर निमाविमा लगि त्यहाँको शिक्षा पद्धति र सिकाई विधिबारे व्यवहारिक ज्ञान दिएको थियो ।  
सार्वजनिक नीजि साझेदारी कार्यक्रम (पिपिपि) अनुसार सञ्चालित नीजि र सामुदायीक विद्यालयका विद्यार्थीवीच ज्ञान आदानप्रदान कार्यक्रमबाट दुवै विद्यालयका विद्यार्थीले धेरै व्यवहारिक ज्ञान सिकेको विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले बताउनुभयो ।