समाचार

संसद बैठक चार दिनका लागि स्थगित

काठमाडौं– संविधान संशोधनको प्रस्तावमाथि छलफल गर्नका लागि आइतबार बोलाइएको संसद बैठक २१ गतेसम्मका लागि स्थगन भएको छ। संशोधन प्रस्तावमाथि छलफल नै नगरी आइतबारको संसद बैठक स्थगन भएको हो।
नेपाली काँग्रेसका पूर्व सांसद नथुनीसिंह दनुवारको निधनमा शोक प्रस्ताव परित गर्दै बैठक चार दिनका लागि स्थगन भएको हो। वि.सं. २०४८ मा सिरहा क्षेत्र नं. २ बाट संसदमा निर्वाचित दनुवारको यही वैशाख १० गते निधन भएको थियो।
आइतबारै संसदको पहिलो बैठकले शोक प्रस्ताव परित गर्ने र दोस्रो बैठकबाट संशोधनमाथि छलफल अगाडि बढाउने भनिए पनि संसद बैठक स्थगनले अब पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन अगाडि संशोधन प्रस्तावमाथि छलफल नहुने भएको छ।
निर्वाचन आयोगले बैशाख ३१ गते हुने निर्वाचनका लागि १९ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका यसअघि नै प्रकाशित गरिसकेको छ।