समाचार

आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा मेला

काठमाडौं, १३ बैशाख । आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । बिहानै उठी नुहाइधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ । 
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको थानकोटमा रहेको मातातिर्थ बिहानैदेखि मेला लागेको छ । मेलामा सहभागी भई कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ । 
स्वस्थानी व्रतकथाअनुसार यस तिर्थमा सतीदेवीको अङ्ग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको विश्वास गरिन्छ । त्यहाँ शास्त्रीय विधिबाट गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ । 
मातातिर्थ औंसीकै अवसरमा भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरि तर्पण गर्ने गर्दछन् । 
शास्त्रमा उल्लेख भएअनुसार बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् । मातृदेवो भव भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ।  
त्यस्तै संस्कृतमा एउटा श्लोक छ– ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती’ अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ।  जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ। 

तस्वीरः गुगल