समाचार

सरकार आतंक मच्चाउने ध्रुवे हात्ती जस्तै भयोः ओली

काठमाडौं, बैशाख । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बर्तमान सरकारलाई चितवनमा आतंक मच्चाउने ध्रुवे हात्तीको संज्ञा दिएका छन् । अहिले सरकारले ल्याएको संविधान संशोधन विधेयक पहिलेको भन्दा खतरनाक भएको र सरकारलाई कुनै कानुन नलाग्ने भन्दै ध्रुवे हात्तीको संज्ञा दिएका हुन् । 
अध्यक्ष ओलीले संसदमा विशेष समय लिएर सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा ओलीले संविधान संशोधन, स्थानीय तहको चुनाव दुई चरणमा गर्ने तयारी र बजेटबारे आफ्ना प्रष्ट अडान राखे ।
उनले संविधान संशोधन गर्न नसकिने भन्दै नयाँ संविधान संशोधन विधेयक पहिलेको भन्दा पनि खतरनाक भएको बताएका छन् । त्यस्तै, संविधानिक व्यवस्था अनुरुपनै बजेट जेठ १५ मा ल्याउनुपर्ने बताएका छन् । दुई चरणको चुनावप्रति एमाले सकारात्मक देखिएपछि बजेट ल्याएर दोस्रो चरणको चुनाव गर्ने प्रस्ताव कुनै हालतमा स्वीकार गर्न नसिकने बताए । 
सोमबार बसेको संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘सीमाना हेरफेर गर्न प्रदेश सभाको सहमति नचाहिदो व्यवस्था राख्न खोजेर सरकारले चलाखीका साथ खतरनाक ढंगले प्रस्तुत गरेको छ। उनले भने,‘प्रदेश सभाको सहमति चाहिने संवैधानिक व्यवस्था नै हटाउन खोजियो। सरकारी प्रस्ताव पारित भयो भने नरहे बाँस नबझे बासुरीको अवस्था आउँछ।’
सरकारले एमालेलाई एक्ल्याउन खोजेको ओलीले आरोप लगाउँदै उनले भने– ‘हामीलाई एक्ल्याउने प्रयास भएको छ। सरकारले निर्वाचन चाहेकै छैन। सरकारले एमालेका कारण निर्वाचन भएन भन्ने पार्न खोजिरहेको छ ।’ यो सरकार बनेपछि संविधान संशोधनमा मात्रै अल्मलिएको छ।  संविधान संशोधन गर्न मिल्ने भन्दै ओलीले सधैभरी संशोधन गरेर मात्रै नबस्न सरकारलाई सुझाव दिए।