काठमाडौं, ११ बैशाख । कार्यसम्पादन मूल्यांकन फाराम किर्ते गरी पेश गरेको अभियोगमा मुछिएका नेपाल प्रहरीका डिआईजी नवराज सिलवाललार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको कार्यालयमा परामर्श लिइरहेका बेला सोमबार विहान १० बजे सिलवाललार्इ प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
आईजीपी नियुक्तिको लागि अन्य दुई प्रतिस्पर्धी डिआईजीभन्दा आफू वरिष्ठ भएको भन्दै सर्वोच्च अदालतमा उनले पेश गरेको कार्यसम्पादन मूल्यांकन फाराम नै फर्जी भएको विषयमा छानबिन चलिरहेको छ। मन्त्रिपरिषद्ले सिलवालले पेश गरेको कागजात नक्कली भएको विषयमा छानबिन गर्न डिआईजी बिजय भट्टको संयोजकत्वमा टोली गठन गरेको छ।
तर, छानबिन टोलीले पटकपटक बोलाउँदा पनि बयान दिन नमानेपछि प्रहरीले नै सिलवाललाई बयानको लागि नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ। प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले डिआईजी सिलवाललाई स्पष्टीकरण प्रक्रियाको लागि बोलाइएको प्रतिक्रिया दिएका छन् । उनलाई प्रहरी प्रधान कार्यालय लगेर बयान लिन थालिएको छ ।
यसैबीच, प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई गैर कानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ ।
सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले रिट दायर गर्नुभएको हो । रिटको पेशी सोमबार नै बताइएको छ । पेशी प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासमा परेको छ । प्रहरीको छानबिन टोलीले डीआइजी सिलवाललाई सोमबार पक्राउ गरेर अनुसन्धान थालेको छ ।
Comments