समाचार

मणिपाल अस्पताललाई किन खारेजीसम्मको कारबाही नगर्ने ?

काठमाडौं,  बैशाख ।  गत शनिबार मुस्ताङमा बस दुर्घटना हुँदा घाइते भएकाहरुको उपचार नगरेको विषयमा स्वास्थ्य मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको छ । सैवैधानिक तथा कानुनी दायित्व उल्लंघन गरेकाले मणिपाललाई प्रचलित कानुनबमोजिम किन खारेजीसम्मको कारबाही नगर्ने भनेर मन्त्रालयले स्पष्टीकरण सोधेको हो । 
नागरिकको मौलिक अधिकार स्वास्थ्य सेवाबाट बञ्चित गरेर अस्पतालले संविधानको धज्जी उडाएको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको हो । मुस्ताङको कागबेनीमा भएको बस दुर्घटनाका घाइतेलाई आकस्मिक उपचार सेवासमेत नदिइ अस्पतालले फर्काएको थियो । विरामीहरुलाई फर्काएपछि अस्पतालमा परिसरमा विरोध हुनुका साथै स्थानीय अस्पतालको कार्यशैलीको विरोध गर्दै प्रदर्शनमा समेत उत्रिएका थिए । 
डाक्टरहरुको धर्म विरामीको उपचार गर्नु हो, तर मणिपालका डाक्टरहरुले आन्दोलित भएका कारण देखाउँदै दुर्घटनाका घाइतेहरुलाई उपचार सेवा दिएनन् ।  मुस्ताङमा भएको उक्त दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए भने गम्भीर घाइते भएका १५ जनालाई सेनाको हेलिकोप्टरबाट तत्काल पोखरा ल्याइएको थियो । मणिपाल अस्पतालले उनीहरुको उपचार गर्न नमानेपछि घाइतेहरुको पोखराकै अन्य अस्पतालमा उपचार भइरहेको छ ।