काठमाडौं– निर्वाचन आयोगले मुलुकभरका मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको छ । निर्वाचन आयोगको पछिल्लो बैठकले आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि मुलुकभरका मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको हो । आयोगले मुलुकभर १० हजार ६ सय ४० स्थानमा मतदान स्थल रहने र ती स्थानमा १८ हजार ५ सय ७२ मतदान केन्द्र रहने जनाएको छ ।
प्रवक्ता सुर्य प्रसाद शर्माले आयोगको बैठकले मतदान स्थल र केन्द्रको संख्या निर्धारण गरेको जानकारी दिनुभयो । आयोगले तराईका दुई जिल्ला बाहेक ७३ जिल्लाको मतपत्र छपाईको काम सकिएको जनाएको छ । महोत्तरी र धनुषाको मतपत्र छपाईको काम पनि सुरु भईसकेकाले ३ दिन भित्र सकिने आयोगले जनाएको छ । ७० जिल्लाको मतदाता नामावली र ६२ भन्दा बढी जिल्लाको मतदाता परिचय पत्र छपाईको काम पनि सकिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । आयोगले यस अघि नै मतदाता नामावली सार्वजनिक गरिसकेको छ ।
आचार संहिता उलंघनका सम्बन्धमा भने सामान्य बाहेक का घटना नभएको आयोगले जनाएको छ । ठूलै आचार संहिता उंलघनको कुरा नआएको पनि जनाएको छ । छिटफुट रुपमा आएका आचारसंहिता उलंघनका सम्बन्धमा भने प्राप्त भएको जानकारीको आधारमा सोधपुछ गर्ने काम भईरहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । यसअघि करिब २१ हजार निर्वाचन केन्द्र हुने अनुमान गरेको आयोगले यसअघि २०७० को संविधानसभा निर्वाचनमा कायम केन्द्रमा १३४ केन्द्र मात्रै थप गरेको हो । दोस्रो संविधानसभा निर्वाचनमा १८ हजार ४ सय ३८ मतदान केन्द्र थिए ।
आयोगकाअनुसार काठमाडौमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा थोरै मनाङमा २८ मतदान केन्द्र कायम गरिएको छ । स्थानीय तहको निर्वाचनमा सहभागी हुने १ करोड ४० लाख ५४ हजार ४८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुङ्गो लागेको छ ।
Comments