समाचार

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

नवलपरासी– नवलपरासी र कैलालीमा भएको छुट्टा छुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मंगलबार नवलपरासीमा भएको भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ हो भने कैलालीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
नवलपरासीमा भएको दुर्घटनमा २८ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा अरुणखोला जङ्गलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ८४३२ नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिँदा भएको दुर्घटनामा बसमा सवार बाँके जिल्ला बैदापुर– ४ का ४५ वर्षीय डिल्लीराम डाँगीको मृत्यु भएको छ।  दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचार क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र सबैको कलेज अफ मेडिकल साईन्सेज भरतपुर चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
यस्तै नवलपरासीको बर्दघाटमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्।
यसैबीच, पूर्णागिरि दर्शन गरेर फर्किरहेका हसुलीयाका ३७ वर्षीय वसन्त विक र ३५ वर्षीय मीना विकको बसको ठक्करबाट मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ वन समिति नजिकै बसले ठक्कर दिँदा ती दुई जनाको मृत्यु भएको हो।
पूर्णागिरि दर्शन गर्न जाने दर्शनार्थी लिएर कैलाली आइरहेको सुदूरपश्चिम यातायातको ना ३ ख ३९५५ नं को बसले त्यहाँबाट फर्केको से १ प ४५५५ नं को मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
बसले ठक्कर दिएलगतै मोटरसाइकल चालक वसन्त विकको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकी सोही ठाउँकी ३५ वर्षीया मीना विकको महाकाली अञ्चल अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो। ठक्कर दिने बस चालक फरार भएको र बसलाई भने इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ ।