दिल्ली– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन्। राष्ट्रपतिको सम्मानमा नयाँ दिल्लीमा दिइएको ‘गार्ड अफ अनर’ पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले भारत र भारतीय जनताको प्रगती तथा सुख शान्तिको कामना गरिन्। सो अवसरमा आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तिको उपस्थिति थियो।
यसैगरी भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहेकी राष्ट्रपति भण्डारीले मंगलबार नै जगतपुर सडकस्थित यमुना उद्यानमा वृक्षरोपण गरेकी छिन्।
कूल ४५७ एकड जमिनमा फैलिएको सो यमुना बायोडायभर्सिटी पार्कमा राष्ट्रपति भण्डारले मौवाको बिरुवा रोपेकी हुन्। राष्ट्रपति भण्डारीका साथ भ्रमण दलका सदस्य, भारतका महिला तथा बालबालिका मामिला राज्यमन्त्री कृष्णा राज सहभागी थिइन्। यसअघि बिहान राष्ट्रपति भण्डारीले महात्मा गान्धीको समाधिस्थल, राजघाटमा पुगी श्रद्धाञ्जलि व्यक्त गरिन्।
यसैबीच, राष्ट्रपति भण्डारीले दिल्लीको औपचारिक कार्यक्रम सकाएपछि बुधबार उडिसामा र विहीबार गुजरात जानेछिन् । उनले त्यहाँ सोमनाथ मन्दिर, द्वारिकाधीश मन्दिर आदिमा तीर्थाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको टोली शुक्रबार उडिसाबाट दिल्ली हुँदै स्वदेश र्फकने कार्यक्रम रहेको छ ।
Comments