काठमाडौं, बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुन लागेको भारतको पाँच दिने राजकीय भ्रमणबाट दुई देशबीचको सदियौँदेखिको आपसी सम्बन्ध थप मजबुत बन्ने अपेक्षा गरिएको छ। नेपालमा नयाँ संविधान जारी भएपछि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न पुगेकी भण्डारीको आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा छिमेकी मुलुक भारतको पहिलोचोटि भ्रमण हुन लागेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यस्तै, राष्ट्रपतिले अन्य भारतीय उच्च अधिकारीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गरेका थिए। अठार वर्षपछि भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा न्यानोपन र व्यापकता आउने तत्कालीन अवस्थामा सरकारले विश्वास लिएको जनाएको थियो।
राष्ट्रपति भण्डारीको भारत भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराई संविधानतः आलङ्कारिक राष्ट्रपतिको यो भ्रमण पनि आलङ्कारिक नै भएको बताउँछन्। उनी भन्छन्, ‘गत नोभेम्बरमा भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलगत्तै हाम्रा राष्ट्रपतिको तय भएको भारत भ्रमण अहिले हुन लागेको छ। यो सद्भावपूर्ण हुने मेरो विश्वास छ।’
राष्ट्रपतिको यो पहिलो विदेश भ्रमणलाई आत्मीय र सम्मानजनक बनाउनु राष्ट्रका लागि इज्जतको विषय हुने भएकाले त्यसअनुसार भ्रमणलाई सफल बनाउनु राज्यको दायित्व हुने विचार उनले प्रकट गरे। राष्ट्रपति अहिले आलङ्कारिक भए पनि उनको पृष्ठभूमि राजनीतिक भएकाले पनि भारत सरकारले राष्ट्रपतिमार्फत नेपालको संविधान, आसन्न निर्वाचन र मधेसका असन्तुष्टिका विषयमा प्रत्यक्ष देखिने गरी नभएर साङ्केतिक रुपमा केही सन्देश दिन अवसरका रुपमा यो भ्रमणलाई लिनसक्ने अनुमान गर्न सकिने उनले बताए।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले नेपालमा समावेशी संविधान जारी भएपछिको राष्ट्रपतिको पहिलो विदेश भ्रमण भएकाले पनि यो आफैँमा महत्वपूर्ण रहेको बताउछन्। उनले यो भ्रमणले नेपाली जनता र भारतीय जनताबीचको अगाध माया र स्नेहको सम्बन्ध अझै कसिलो बन्ने विश्वास व्यक्त गरे।
नेकपा माओवादी केन्द्रका नेता तथा पार्टी प्रवक्ता पम्फा भुसालले संविधानतः संवैधानिक राष्ट्रपतिको यो भ्रमणले आपसी सम्बन्ध अझै सुदृढ बन्ने बताइन्। एक राष्ट्रप्रमुखको हैसियतले हुन लागेको राष्ट्रपति भण्डारीको भारत भ्रमण कुनै राजनीतिक विषयमा भन्दा पनि सद्भाव अभिवृद्धिका लागि हुनुपर्ने धारणा उनको थियो।
यसैबीच आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाने र स्वदेश फर्किने दुवै दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्रपतिको राजकीय भ्रमणका लागि गृह मन्त्रालयले सार्वजनिक विदाको प्रस्ताव आइतबारको मन्त्रिपरिषदमा लगेको थियो।
राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार भारतको औपचारिक भ्रमणमा जाँदैछिन्। उनको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत छन्।
Comments