समाचार

नयाँ वर्ष २०७४ सालको शुभकामना

काठमाडैं, १ बैशाख । आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् । 
यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम विसं शास्त्रीय संवत भएको बताउनुहुन्छ । “सौरमान र चन्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो”–उहाँले भन्नुभयो । राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरिले गर्ने गरेका छन् । यस अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइन्छ । सूदुरपश्चिममा भने नयाँ वर्षलाई बिषु पर्वका रुपमा विशेष रुपमा मनाउने गरिन्छ ।