समाचार

मुग्लिनमा सुख्खा पहिरो, दुई जनाको मृत्यु, एकतर्फी बाटो खुल्यो

चितवन– चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कविलासको घुमाउनेमा सुख्खा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा लम्जुङ सुन्दर बजार ३ भोटओडार बस्ने ४५ वर्षीय रेशराज राना रहेका छन् । अर्का एकको पहिचान खुलेको छैन् । बा १० प ४८४४ नम्बरको मोटरसाइकल सवार रानाको घटनास्थलमै मृत्यु भएको हो । उनको मोटरसाइकल पछाडि बसेका १५ वर्षका छोरा सन्दीप राना घाइते भएका छन् ।
उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै ना ४ ख ५४१९ नम्बरको ट्याङकरका सह चालकको समेत मृत्यु भएको छ । अन्दाजी २८ र २९ वर्षको जस्तो देखिने उनको पूर्ण सनाखत हुन बाँकी छ ।
ट्याङकरका चालक पर्सा जिल्ला लछुमनवा १८ वस्ने ३६ वर्षका बनु पटेल समेत घाइते छन् । पहिरोले पाँचवटा सवारी साधन पुरिएको छन् । पुरिएको सवारी साधनमध्ये दुईवटा सवारी साधनको केही भाग मात्रै देखिएको छ । मालबाहक ट्रक, टाटा मोबाइल, कार र टयाङकरसँगै केही मोटरसाइकलहरु पनि पुरिएको प्रहरीले आशंका गरेको छ ।
माथिबाट खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको थियो । घटनास्थल भरतपुरदेखि २० किलोमिटरको दूरीमा छ ।
एकतर्फी बाटो खुल्यो
मुग्लिन–नारायणगढ सडक खण्डको कविलास–६ घुमाउनेमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । विहान करिब साढे १० बजे गएको पहिरो बेलुकातिर मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए ।