–नन्द ऋषि जैसी
भूकम्पबाट क्षतिग्रस्त बनेको गोकर्णेश्वर नगरपालिका–७ बालुवास्थित तारेभिर प्राथमिक विद्यालयको भवन पुनर्निमार्ण थालिएको छ । आइतबार बौद्ध धर्मका धर्मगुरु तुल्कु छेएकीनिमा रिम्पोचे र गायिका आनिछोइङ डोल्माले धार्मीक विधिअनुसार भूमी पूजा गरेर भवनको शिलान्यास गर्नुभएको हो । विद्यालयको भवन पुनर्निमार्णको काम घाँसी नेपाल नामक संस्थाको पहलमा भएको हो ।
लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको घाँसी आदर्श समाज नेपाल (घाँसी नेपाल)ले काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरुमा भत्किएका विद्यालयका भवन निर्माणको काममा पनि सहयोग गर्दै आएको छ । आइतबार तारेभीर प्राविको भवन निर्माणको शिलान्यास गर्दै धर्म गुरुहरुले राम्रा काममा सबैले साथ दिनु पर्ने बताए । उनीहरुले घाँसी नेपालले गर्दै आएको कामको मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।
गायिका आनी छोइङले पनि सामाजिक काममा सक्रियता देखाउँदै आउनुभएको छ । उहाँले घाँसी नेपालले गर्दै आएको काममा आफू विश्वस्त रहेको भन्दै आफूले घाँसी नेपाललाई सहयोग गर्दै आएको बताउनुभयो । आफूले गरेको सहयोगले साना बालबालिको उज्ज्वल भविष्य हुने विश्वास राख्दै बालबालिकाहरुले बालमैत्री वातावरणमा अध्ययन गर्न पाउने बताउनुभयो ।
यस्तै उनले सामाजिक कार्यमा सक्रिय रहेका यस्ता संघ संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भनिन्– ‘सबैभन्दा ठूलो सन्तुष्टि नै सर–सहयोग र दानबाट मिल्छ, त्यसैले सामाजिक सहयोगमा हात अघि बढाऔं, तर आफूले गरेको सहयोग सही ठाउँमा प्रयोग हुन्छ कि हुँदैन त्यस विषयमा भने सचेत बन्नुपर्छ ।’
घाँसी नेपालको पहलमा विद्यायको भवन निर्माण हुन थालेपछि बालबालिकाहरुका अभिभावकसँगै स्थानीयबासी पनि हर्षित बनेका छन् । उनीहरुले घाँसी नेपालले चालेका कदममा आफूहरुको साथ र सहयोग सदा–सर्वदा रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विद्यालयको भवन शिलान्यासमा सहभागी हुनुभएका बौद्ध गुरु तुल्कु छेएकीनिमा रिम्पोचे, तथा आनिछोइङ डोल्मालाई स्वागत गर्दै घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले हालसम्म आफूहरुले गरेका सबै काममा साथ र सहयोग पाउँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्नुभयो ।
‘हामीहरुको एक्लो प्रयासले मात्रै कामले मूर्त रुप लिन सक्दैन, सबैको साथ सहयोग रहेमा त्यसले गुणस्तरीय प्रतिफल दिन्छ ।’ उहाँले थपे– ‘हामीले विद्यालयको भवन निर्माणको काम थालिसकेका छौं । अब चाँडै भवन निर्माण पूरा हुनेमा हामी विश्वत छौं ।’
Comments