काठमाडौं– काठमाडौ महानगरपालिकाले तत्काल सुधार गर्ने गरी ३० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । यसमा पर्यटकलाई स्काई रेल चलाउने देखि सडक बढाउर्ने ब्रूमर किन्नेसम्म छन् । महानगरका प्रमुख तथा कार्यकारी ईश्वरराज पौडेलले शुक्रबार कार्यक्रमकाबीच बीच ३० बुँदे कार्ययोजना सार्वजनिक गरे । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा उपस्थित कार्यक्रममा पौडेलले काठमाडौंका पर्यटकीय स्थलहरुलाई समेटेर स्काई बस सञ्चालन गर्ने बताए । यसका लागि पर्यटन ब्यवसायीहरुसँग छलफल तथा सहकार्य थाल्ने उनको भनाइ छ ।
त्यसैगरी महानगरपालिकाले आफ्ना सेवाहरुलाई चुस्त, पारदर्शी र सेवाग्राही मात्रै बनाउने योजना पनि बनाएको छ । महानगरपालिकाले सडकमा धुलो जम्ने र त्यसले धेरै प्रदुषण हुने समस्या समाधानका लागि ६ महिनाभित्र १० वटा धुलो बढार्ने ब्रूमर मेसिन पनि किन्ने भएको छ । त्यसैगरी, महानगरका सबै अधिकृत र विभागीय प्रमुखलाई ३ सिफ्टमा नै सेवा प्रवाह सुधारका लागि काम गर्न लगाउने योजना कार्यकारी पौडेलले सार्वजनिक गरेका छन् । वडा कार्यलयहरुको सेवा सुधारका लागि पनि काम सुरु हुने उनले बताए । महानगरले राष्ट्रियगानका सर्जक ब्याकुल माइलालाई महानगरले विकास दूत नियुक्त गर्ने भएको छ । यसमार्फत विकास दूत माइलाले महानगरको विकासका लागि प्रवर्द्धनात्मक रे चेतनामुलक कामहरु गर्नेछन् ।
महानगरका मुख्य क्षेत्रमा ठूला रुख रोप्न र अनावश्यक ठाउँबाट उखेल्न ५ थान ट्री ट्रान्सप्लान्टर मेसिन पनि खरिद गरिने भएको छ । यसले विकासका काम गर्दा रुख काट्नुपर्ने छैन, उखेलेर अन्तै लगेर सार्न सकिनेछ । महानगरले घर निर्माण इजाजतका लागि फिल्ड निरीक्षण बढाउने र ३००० बर्गफिटसम्म बन्ने घरको निर्माण इजाजत फिल्डबाटै दिने ब्यवस्था पनि गर्ने भएको कार्यकारी पौडेलले बताए । ५००० बर्गफिटभन्दा ठूलो जमिनमा निर्माणधीन घरबारे महानगरको प्राविधिकको विवरणसहित डिस्प्ले बोर्ड राख्ने निर्णय पनि गरेको छ । त्यस्तै फोर मैला व्यवस्थापनको लागि ओखर पौवा, सिसडोल, बन्चरे डाँडाको एकीकृत व्यवीस्थापन गर्ने भएको छ ।
Comments