मनोरंजन

‘अर्को जन्म’मा समावेश लिम्बु भाषाको गीत अमेरिकामा छायांकन

न्यूयोर्क– अमेरिकामा पहिलोपटक लिम्बु भाषको गीत छायांकन भएको छ ।  लिम्बु भाषाको म्युजिक भिडियो न्युयोर्क आसपासका क्षेत्रमा छायाङ्कन गरिएको हो । यस क्षेत्रमा यसभन्दा अगाडि नेपाली भाषका गीत, सर्ट मुभिजहरु छायांकन गरिए पनि नेपाली भाषाभाषी अन्तर्गत लिम्बु भाषाको गीतको भिडियो भने पहिलो पटक छायांकन गरिएको निर्माण पक्षले दाबी गरेको छ ।  
न्यूयोर्कको सेन्ट्रल पार्क, बियर माउन्टेन, ब्रुकलिन ब्रीज, ज्याक्सन हाईट लगायतका रमणीय स्थलहरुमा छायाङ्कन गरिएको भिडियो सम्पादन कार्य धमाधम भइरहेको छ भने भिडियो चाँडै बजारमा ल्याउने निर्मात्री तथा गीतकार इन्दिरा चेम्जोङले जनाइन् ।

न्युयोर्क निवासी ईन्दिरा चेम्जोङको एकल शब्द रचना रहेको गीतहरु समाबेश पहिलो एल्बम ‘अर्को जन्म’ मा ६ वटा गीतहरु समावेश छन् । तीन वटा गीतहरुको भिडियो छायाङ्कन अमेरिकामा गरिएको छ भने बाँकी तीन वटा गीतको छायांकन भने नेपालमा गरिएको छ । ‘अर्को जन्म’ एल्बममा समावेश ६ वटा गीत मध्ये एउटा गीत लिम्बु भाषामा रहेको छ । उक्त लिम्बु भाषाको गीत हालै अमेरिकामा छायांकन सकिएसँगै सम्पादन कार्य थालिएको छ ।  

लिम्बु भाषाका थुप्रै सफल गीत गाएकी सीता कुमारी सिंगले लिम्बु भाषको उक्त गीतमा स्वर दिएकी छिन् भने संगीत इमाहाङ सेत्लिङ लिम्बुले दिएका छन् । लिलाकुमारी सिंगकले निर्देशनमा बनेको उक्त भिडियो राम सदेम्बा लिम्बुले छायाङ्कन गरेका हुन् । गीतमा सुमित्रा लिम्बु र अमर सेहाङ नेम्बाङ लिम्बुले अभिनय गरेका छन् । यही एल्बमकै अर्को दुई गीतको छायाङ्कन भने मोक्तान डिजिटलका शम्भु मोक्तानले गरेका छन् । पहिलोमा शौरम तुलाधर र शम्भु मोक्तानको संयुक्त निर्देशन रहेको छ भने कलाकार आकेशा बिष्ट र शौरम तुलाधरको प्रस्तुती हेर्न पाईनेछ ।

बसन्त सापकोटाको सँगीतमा यस गीतलाई मेलिना राई र प्रमोद खरेलले स्वर भरेका छन् । दोस्रो गीतमा कलाकारहरु अकेशा बिष्ट, इशान ढकाल, प्रजिता काफ्ले छन भने राज शुक्र लिम्बुको संगीतमा सुमधुर स्वरकी धनी अन्जु पन्तको रहेको छ । नेपालमा छायाङ्कन गरिने ३ वटा गीतहरुमा भर्शटाइल गायक दीपक लिम्बुको स्वर तथा तारा प्रकाश लिम्बुको संगीतमा नायिका तथा गायिका बिष्णु चेम्जोङ् र निर्मल पुलामी मगरले मोडलिङ गरेका छन् । त्यस्तै, चर्चित गजल गायक स्वरुप राज आचार्यको स्वर, राजशुक्र लिम्बुको संगीतमा जिबन घिमिरे तथा सपना छन भने तेस्रो गीतमा मिलन अमात्यको सुमधुर स्वरमा बाबुल गिरीको संगीतमा कविता माखिम लिम्बु र सागर लिम्बुले अभिनय गरेका छन् ।       

गीतकार तथा निर्माता इन्दिरा चेम्जोङ्ग धनकुटाको चौबिसे राजारानी की हुन् । उनी गीत, संगीतमा सानै रुची राख्ने भए पनि अहिले मात्र उनी सांगीतिक क्षेत्रमा देखा परेकी छन् । उनले आउदा दिनहरुमा यही क्षेत्रमै निरन्तता दिने बताइन् । प्रवासमा बसेर पनि उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । ‘सेवा हि परामो धर्म’ सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने हेतुले गीत संगीतसँगै सामाजिक कार्यलाई पनि निरन्तरता दिने उनले बताइन् ।