समाचार

‘अभ्यास शान्ति प्रयास–३’ प्रधानमन्त्रीबाट उद्घाटन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  काभ्रेपाल्चोक जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा २८ देशको संयुक्त सैन्य अभ्यासको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले गौतम बुद्धको भूमि नेपालले विश्वमा शान्ति स्थापना गर्न उल्लेखनीय भूमिका खेलेको बताए।

‘अभ्यास शान्ति प्रयास–३’ नाम दिइएको तालिममा १ हजार २४ जना सेनाले भाग लिइरहेको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रम दाहालले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालले उल्लेखनीय योगदान पुर्‍याएको स्मरण गरे।  ‘बृहत शान्ति प्रक्रियामार्फत नेपालले द्वन्द्व व्यवस्थापन गरेर नयाँ प्रयोग गरेको छ, यो विश्वमा शान्ति स्थापनाका लागि उद्यारणीय नमूना हो’, उनले भने।
प्रम दाहालले शान्ति र सुरक्षाको लागि युएनले चालेका कदममा नेपाल जस्तोसुकै परिस्थितीमा पनि साथ दिन तयार रहेको उल्लेख गरे। सो कार्यक्रममा अमेरिकी प्यासिफिक सैन्य कमाण्डका कमाण्डर जनरल ह्यारी बी। ह्यारिसले शान्ति कार्य स्थापनाका लागि नेपालसँग मनग्य ज्ञान, अनुभव र सीप रहेको उल्लेख गरे। राष्ट्र संघको ‘शान्ति मिसन’मा नेपाली सेनाले अत्यान्तै ठूलो योगदान गरेको हयारीको भनाइ थियो।

ह्यारीले विश्वमा शान्ति स्थापनामा योगदान पुर्याएको नेपाली सेनासँग संयुक्त रुपमा सैन्य अभ्यास गर्न पाउँदा गर्व लागेको बताए। सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत एलाइना बी। तेप्लिजले पनि संबोधन गरेकी थिइन। संयुक्त सैन्य अभ्यास २१ चैत्रसम्म संचालन हुनेछ। सो अभ्यासको प्रशासनिक र प्रशिक्षण खर्च अमेरिकी सेनाले व्होर्नेछ।

संयुक्त सैन्य अभ्यासमा बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका, भियतनाम, बोस्निया हर्गो्ज्निया, घाना, रुवान्डा, जोर्डन, काजकिस्तान, पाकिस्तान, पाराग्वे, फिजी, मेक्सिको र उरुग्वे सहभागी छन्। साथै, अस्ट्रेलिया, क्यानडा, जापान, न्यूजिल्यान्ड, दक्षिण कोरिया, बेलायत र अमेरिकी सैनिक समेत सहभागी छन्।

नेपालमा तेस्रो पटक हुन लागेको सैन्य अभ्यासका लागि नेपाली सेनाले ४९ जना सैन्य प्रशिक्षक तयार पारिएको जनाइएको छ। यसअघि सन् २००० र २०१३ मा यस्तै सैन्य अभ्यास भएको थियो। हाल युएनमातहतका १५ वटा शान्तिस्थापक मिसनमा नेपाली सेनाका ४ हजार ६ सय ६० जना खटिएका छन्।

राष्ट्रसंघ मातहत शान्ति स्थापक फौज पठाउने देशहरूमध्ये नेपाल छैटौँ स्थानमा छ। यसपटक उक्त अभ्यासमा पहिलो पटक सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई–दुईजना सहभागी हुन लागेको तालिम केन्द्रका महासेनानी प्रयोग जेबी राणाले जनाए।