काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले करछलीसँगै सेवा प्रयोग गरे वापत उपभोक्ता ठगिएको गुनासो आइरहेका बेला नेपालका केही ठूला व्यापारी पनि ठगिएको तथ्य फेला परेको छ । एनसेलसंग कन्ट्र्याकमा काम गर्दै आइरहेका केही कम्पनीहरुको करोडौ रकम अझै एनसेलले नतिरेको तथ्य फेला परेको हो । एनसेलकै कारण आफूहरु बैंक डिफल्टर हुने संभावना बढेको नाम नखुलाउने शर्तमा ती व्यापारीले जानकारी दिएका हुन् । उनले भने पैसा भुक्तानीको लागि बारम्बार ताकेता गर्दा पनि तिर्न बाँकी रहेको एनसेलका लेखा प्रमुख हादी हेल्मीले दिएका छैनन् ।
एनसेलका लागि काम गर्ने कम्पनीहरुले कन्ट्र्याक्ट अनुसार काम पूरा गरिसक्दा पनि एनसेलबाट लिनुपर्ने करोडौं रकम भुक्तानि नभएपछि आफूहरु बैंक डिफल्टर हुने सम्भावना बढेको ती व्यापारीले बताए । उनले भने– ‘नेपाली कम्पनीले बर्षौदेखि काम गरेको रकम एनसेलले भुक्तानी नगरिदिँदा कम्पनीहरुले बैंकबाट लिएको ऋण तिर्न नसक्ने अवस्था आएको छ ।’ त्यतिमात्र नभएर एनसेलसँग काम गरिरहेका धेरै ठेकेदार कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई तलब समेत दिन नसकेको बताएका छन् ।
एनसेल कम्पनी एक अन्तर्रास्ट्रिय मलेसियन कम्पनी Axiata ग्रुप द्वारा संचालित कम्पनी हो। यसले बर्षमा २० अर्ब रुपैयाँ नाफा गर्ने गरेको छ । सोहीवापत नेपाल सरकारलाई तिर्नपर्ने कारोबार कर र लाभकर पूँजी समेत गरि अर्बौ रुपैयाँ एनसेलले तिर्न बाँकी रहेको छ ।
यसैबीच, सरकारले अन्ततः एनसेल खरिद बिक्रीमा बिक्रेतासँग पूँजीगत लाभकर अशुल्ने निर्णय समेत गरिसकेको छ । स्विडिस कम्पनी टेलियासोनेराले २०७२ पुसमा पूँजीगत लाभकर नेपाललाई नबुझाई एनसेल मलेसियाको एक्जियटालाई बिक्री गरेको थियो।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको बिक्रेतासँग पूँजीगत लाभकर असुल्ने निर्णय गरेको हो । कानूनमन्त्री अजयशंकर नायकले भने, ‘विक्रेताले किन कर तिरेन भन्ने प्रश्न उठिरहेको सन्दर्भमा लाभकर असुल्ने निर्णय भएको हो।’ यसअघि संसदको अर्थ समितिले २०७३ जेठ १६ र अर्थ समितिले जेठ २१ बसेको बैठकले बिक्रेतासँग लाभकर अशुल्न अर्थ मन्त्रालयलाई निर्देशन समेत दिएको थियो।
एनसेलको करछली विरुद्ध सुशासनका लागि नागरिक अभियान नारासहित बुधबार दिउँसो नागरिकहरुले माइतघर मण्डलामा विरोध कार्यक्रम समेत गर्ने भएका छन् ।
Comments