काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत केन्याविरुद्धको दोस्रो तथा अन्तिम खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । १५६ रनको लक्ष्य पछ्याएको नेपालले ३० दशमलब २ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गर्दै नट आउट ६४ रन बनाए । यस्तै राष्ट्रिय टिममा शनिबारको खेलबाट मात्रै डेब्यु गरेका दिपेन्द्रसिंह ऐरीले पनि उत्कृष्ट पारी खेल्दै ६२ रनमा आउट भए । बलिङमा ४ विकेट लिएका शरद भेषवाकर पनि फिनिसिर बने । उनले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । उनी पनि २४ रनमा नट आउट गरे । सुरुवाति १४ रन जोड्दा २ विकेट गुमाएको नेपालको ब्याटिङलाईन ज्ञानेन्द्र र दिपेन्द्रले सम्हाले उनिहरुले १११ रनको साझेदारी गरे । सुरुवाती ब्याटस्म्यान सुनिल धमला १ रनमा आउट भएपछि आएका सागर पुनले पनि ५ रनमा पेभेलियन फर्कन बाध्य भए ।
यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले ४६ दशमलब १ ओभरमा सबै विकेट गुमाउदै १५५ रन बनाएपछि नेपालले १५६ रनको लक्ष्य पाएको हो । केन्याका लागि कोलिन्स ओबुयाले सर्वाधिक ४८ रन बनाए भने ईर्फान करिमले ३८ रनको योगदान दिए । कप्तान राकिब पटेलले २१ रन बनाउदा अन्य ब्याट्स्म्यानले खासै प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि पार्टटाइम बलर शरद भेषवाकरले सर्वाधिक ४ विकेट लिए भने बसन्त रेग्मिले २ विकेट हात पारे । नेपालका भेट्रान मेहबुब आलमले कशिलो बलिङ गर्दै ७ ओभर बलिङ गर्दै ५ ओभर मेडन राखेर ११ रन खर्चिदै २ विकेट लिन सफल भए । यस्तै सागर पुन र सन्दिप लामिछानेले समान एक एक विकेट लिए ।
यो जितसंगै ८ राष्ट्र सहभागि च्याम्पियनसिपमा नेपाल २ अंक थपेर ८ अंक बनाउदै छैठौ स्थानमा यथावत रहेको छ । यसअघि शनिबारको जितसंगै केन्या १० अंकका साथ अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । अंकतालिकाको शिर्ष स्थानमा नेदरल्याडस रहेको छ ।
Comments