काठमाडौं- आज फागू पूर्णिमा अर्थात रंगहरुको पर्व होली । देशभर बिभिन्न रङ, अविर र लोला खेली होली पर्व मनाइदै छ । आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई राजधानी लगायत देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ । नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी क्षेत्रमा मनाउने गरिन्छ भने भोलि तराईमा मनाइन्छ ।
त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । तर, प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ । हिन्दूहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुँदा होलीमा साथीभाइ, आफन्तहरुले एक आपसमा रङ्गहरू लगाएर मनाउने गरिन्छ ।
गत आइतबार बिहानी शुभसाइतमा बसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुण्डाइएको तीनतले चीर ठड्याएपछि होली पर्व सुरुवात भएको हो । होलीकै भोलिपल्टबाट वसन्तब।ऋतुको आगमन हुने विश्वास छ । विशेषगरी, तराईमा विशेष उल्लाससाथ मनाइने होली पछिल्लो समय नाचगान गरेर, साथीभाइ आपसमा मिलेर मनाउने गरिएको छ ।असत्यमाथि सत्यको विजय भएको उत्सवका रुपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
Comments