समाचार

सप्तरी अपडेटः मृतकको संख्या ४ पुग्यो, दुई दिन मधेश बन्द

सप्तरी– सप्तरीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।  प्रमुख विपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा मोर्चाले विथोल्ने खोजेपछि झडप भएको हो । 
सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ–४ का २० वर्षीय संजन मेहताको घटनास्थलमै मृत्यु भएको हो । यस्तै लिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर मण्डलको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । भने मण्डलको धरान पु¥याए लगतै निधन भएको हो । यस्तै प्रसवनीका आनन्दप्रसाद साहको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । 
घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धरानमा र राजविराजमा उपचार भइरहेको छ । 
यसैबीच, सप्तरी घटनापछि आकस्मिक बसेको मधेसी मोर्चाको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ । तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको मोर्चाको बैठकले घटनाको सम्पूर्ण जिम्मेवारी एमाले लिनुपर्ने माग गरेको छ । 
यसैगरी मोर्चाले आज र भोलि दुई दिन तराई–मधेश बन्दको घोषणा समेत गरेको छ । सप्तरी गोली प्रकरणपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । विहानै बाट बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । मोर्चाको बन्दका कारण विहानैदेखि सडक सुनसान बनेको छ । मोर्चाका कार्यकर्ताले ठाउँ ठाउँमा विरोध प्रदर्शन जारी राखेका छन् । घटनापछि सरकारले दुबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै मृतकका परिवालाई राहत र घाइतेको उपचार गराउने निर्णय गरेको छ । 
यता नेकपा एमालेले पनि सप्तरी घटनापछि मेची–महाकाली अभियानका सबै कार्यक्रम तीन दिनका लागि स्थगित गरेको छ । एमाले स्थायी समिति बैठकले तीन दिनका लागि सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । एमालले सप्तरी घटना दुःखद भएको बताएको छ । अभियान अन्तर्गत आज जनकपुर, धनगढी, सिराहा लगायतका जिल्लामा कार्यक्रम हुने तय भएको थियो ।