काठमाडौं– बिहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ–ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रम स्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर संजन मेहताको मृत्यु भएको छ ।
मधेसी मोर्चाको अवरोधका बीच नेकपा एमालेले सप्तरीमा शक्ति प्रदर्शन गरेको छ । मेची–महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा सोमबार एमालेले सभा गरेको हो । सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २–४ जनाले कालोझण्डा देखाउँदैमा एमालेको अभियान नरोकिने बताए ।
एमालेको कार्यक्रम विथोल्ने भन्दै मधेसी मोर्चाका कार्यकर्ताले सोमबार विहानैदेखि प्रदर्शन गरेका थिए । तर, ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई रोके र, एमालेको कार्यक्रम स्थलसम्म पुग्न दिएनन् । यसबीचमा पटक पटक सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
झण्डै १० हजार सहभागी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले मधेसको रैथाने पार्टी भएको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको अघिल्लो सरकारले तराई मधेसमा विकासका दर्जनौं योजनाहरु ल्याएपछि विरोध भएको बताए । कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मधेसको धर्तीपुत्र आफू भएको बताए ।
मैथिली भाषामा सम्बोधन गरेका उनले नजिकै रहेका एमाले अध्यक्ष ओलीलाई देखाउँदै भने, ‘मभन्दा पुरानो धर्तीपुत्र केपी ओली हुन् ।’ एमालेको अभियान सप्तरीको कञ्चनपुर पुगेर बास बस्नेछ । एमालेको कार्यक्रम सकिए पनि प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताको झडप भने ठाउँ–ठाउँमा भइनै रहेको छ । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले दर्जनौं अश्रुग्यासका साथै हवाई फायर गरेको छ । एमालेको कार्यक्रम विथोल्न मोर्चाले आज सप्तरीको बजार बन्द गरेको थियो । ठाउँ ठाउँमा टायर बालेर प्रदर्शनमा उत्रिएपछि प्रहरीले मोर्चाका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।
Comments