समाचार

खोप कार्यक्रम अवरोध गर्ने १८ कर्मचारीलार्इ निलम्बन

काठमाडौं- पोलियो खोप कार्यक्रममा अवरोध गर्ने १८ कर्मचारी निलम्बनमा परेका छन् । कर्मचारीले स्वास्थ्य संस्था र खोप भण्डारण कक्षमा समेत तालाबन्दी गरेकाले पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको छ ।
नियमित तालिकाअनुसार ललितपुर, भक्तपुरसहित तराईका १५ जिल्लामा पाँच वर्षमुनिका १६ लाख १२ हजार ३ सय १५ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम थियो । ७ र ८ फागुनमै पोलियो थोपा खुवाउने भनिएको थियो । तर, कर्मचारीले स्वास्थ्य संस्थामा तालाबन्दी तथा औषधि ढुवानीमा अवरोध गरेपछि दुईपटक मिति सारिएको थियो ।
स्वास्थ्य मन्त्रालयले ७ र ८, १३ र १४ र २१ र २२ फागुनमा पोलियो थोपा खुवाउने तयारी गरेको थियो । स्वास्थ्यमन्त्री गगन थापाले पोलियो खोप अभियानमा अवरोध पुर्याउने कर्मचारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए । तैपनि अवरोध गरेर बालबालिकाको स्वास्थ्य र जीवनमाथि खेलबाड गरेको भन्दै स्वास्थ्य मन्त्रालयले अवरोध गर्ने कर्मचारीलाई निलम्बन गरेको हो ।
स्वास्थ्य मन्त्रालयले मनपरी भएको भन्दै बर्खास्तसमेत गर्ने गरी कर्मचारीहरूको सूची बनाउन थालेको स्वास्थ्यमन्त्री गगन थापाले बताए । मन्त्रालयले आचारसंहिताविपरीत गतिविधि गर्ने कर्मचारीलाई कारबाही गर्र्न निर्वाचन आयोगसँग परामर्शसमेत लिएको छ । निलम्बनमा परेका कर्मचारीलाई विभागीय सजाय गर्नु नपर्ने कारण भए तीन दिनभित्र स्पष्टीकरण पेस गर्न मन्त्रालयले आइतबार सूचनासमेत जारी गरेको छ । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७८(३) र निजामती सेवा ऐन २०४९ को दफा ६४ (३) अनुसार १८ कर्मचारी निलम्बनमा परेका हुन् ।
कर्मचारी बर्खास्त गर्ने विषयमा लोकसेवा आयोगसँग पनि परामर्श लिइने मन्त्रालयले जनाएको छ । सरकारी अभियानमा अवरोध गर्ने र राज्यमाथि नै चुनौती दिने हिसाबले विभिन्न गतिविधि गरिरहेको प्रमाणका आधारमा उनीहरूलाई सेवाबाट बर्खास्त गर्न लोकसेवासँग परामर्श लिन लागिएको स्रोतले बतायो ।
स्वास्थ्य सेवा ऐनको दफा ७४ मा सेवाबाट हटाउने वा बर्खास्त गर्ने विषय उल्लेख छ । कर्मचारीले लापरबाही वा बदनियतले काम गरेमा, आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा, बारम्बार अनुशासनहीन काम गरेमा बर्खास्त गर्न सकिने प्रावधान छ । कार्यालय समयमा बारम्बार मादक पदार्थ सेवन गरेमा, राजनीतिमा भाग लिएमा पनि सरकारले चाहेमा बर्खास्त गर्न सक्ने व्यवस्था ऐनमा छ ।