समाचार

माेबाइल टाढा फालेर निरज र पुष्पा पुरस्कृत

काठमाडौं- काठमाडौंको टुँडिखेलमा मोवाइल फ्याक्ने प्रतियोगिता भएको छ। सयौं सहभागीले आ–आफनो मोवाइललाई बलले भ्याएसम्म टाढा पुग्ने गरी फालेर प्रतियोगितामा सहभागिता जनाए।  सबैभन्दा टाढा फाल्न सक्ने प्रतियोगिलाई मोवाइल नै पुरस्कार दिने अायाेजककाे नियम अनुरूप प्रतियोगीमध्येबाट पुरुषतर्फ निरज भण्डारीले ६४ दशमलब एक र महिलातर्फ पुष्पा सुवेदीले २८ दशमलब ६ मिटर परसम्म मोवाइल फाल्न सफल भई पुरस्कृत भए। पुरस्कृतलाई आयोजक संस्थाका अध्यक्ष कार्कीले कलर्स ब्राण्डको पी ३२ मोडेलको एकएक वटा मोवाइल सेट पुरस्कारस्वरुप वितरण गरे। 
मोबाइल फ्याक्नको लागि निश्चित नियम बनाइएको थियो। निश्चित रेखामा बसेर मोवाइल फाल्नुपर्ने व्यवस्था त्यहाँ गरिएको थियो । मोवाइल फाल्नुअघि फाल्ने व्यक्तिको नाम टिप्ने र फालेपछि उनले फालेको दुरी नाप्ने व्यवस्था मिलाइएको थियो। रोटरी क्लव अफ रुद्रमति काठमाडौले शनिबरा मोबाइल फाल्ने प्रतियोगिताको आयोजना गरेको हो। 
आयोजक रोटरी क्लव अफ रुद्रमति काठमाडौंका अध्यक्ष मोहन कार्कीले मुगुको दुगर्म जिल्लाका महिलालाई सञ्चारसँग जोड्ने अभियानमा सहयोग पुर्‍याउन कार्यक्रम आयोजना गरेको जनाए । कार्यक्रबाट फण्ड राइज (पैसा वटुली)गरी मुगुका महिलालाई सिमसहित मोवाइल सहयोगस्वरुप वितरण गरिने योजना रहेको उनले सुनाए ।
प्रतियोगितामा सहभागी हुनका लागि प्रतिव्यक्ति एउटा मोवाइल ल्याउनुपर्ने व्यवस्था गरिएको थियो । साथसाथै त्यहाँ रोटरीहरुका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ र रोटरीबाहेकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ प्रतिव्यक्ति सहभागिता शुल्क दिनुपर्ने व्यवस्था थियो। त्यही सहभागिता शुल्कबाट उठेको रकमबाट मोवाइल खरिद गरी मुगुका महिलालाई वितरण गरिने योजना रहेको आयोजक संस्थाका अध्यक्ष कार्कीले जनाए।  प्रतियोगितामा कुल महिला र पुरुष गरी एक सय ४९ प्रतिस्पर्धी प्रतिस्पर्धामा सहभागी भएका थिए।  यसअघि दुई वर्ष अगाडि पनि टुँडिखेलमै यस्तै प्रतियोगिता भएको आयोजकले जनाएको छ ।