-बलराम प्यासी
काठमाडौं– काठमाण्डौको दक्षिण भेगको सामुदायीक विद्यालय श्री सेतीदेवी मावि र फर्पिङ्ग क्षेत्रका अन्य १७ विद्यालयमा पढ्ने ५३ जना गरीव तथा जेहेन्दार विद्यार्थीलाई बुधबार जर्मनीकी शिक्षासेवी तथा समाजसेवी मार्गरेट थलमनले आफ्नो सहित उनका अरु ५२ जना जर्मन मित्रहरुले पठाएको छात्रवृत्ति बाँडेकी छिन् ।
यतीमात्रै नभई साना कक्षाका विद्यार्थीहरुका लागि खेल सामग्री खरीद गर्न उनले विद्यालयलाई थप ५० हजार रुपैयाँ पनि सहयोग गरीन । यसअघि साना केटाकेटीका लागि उनले १५ लाख रुपैयाँ खर्चेर विद्यालयमा खेल तथा अध्ययन सामाग्रीको व्यवस्था गरि दिएकी थिइन् ।
यो उनले बाँडेको पहिलोपटकको छात्रवृत्ति भने होइन । उनले विगत १५ वर्षअघिदेखि त्यसभेगका १ कक्षादेखि स्नातक तहसम्म पढ्ने विद्यार्थीका लागि यसप्रकारको छात्रवृत्ति बाँड्दै आएकी छन् । मार्गरेटको सम्मानमा विद्यार्थीहरुले बुधबार उनलाई फुलमाला लगाएर स्वागत सत्कार गरेका थिए । छात्रवृत्ति हस्तान्तरणपछि उनले विद्यालयका शिक्षक र विद्यार्थीहरुसंग बसेर छलफल र रमाइलो गरीन् ।
उनले प्रति विद्यार्थी वार्षिक १८ हजार रुपैयाँको दरमा छात्रवृत्ति बाँडेको श्री सेतीदेवी मावि सेतेदेवी सोखेलका प्रधानाध्यापक रामकुमार बस्नेतले बताउनुभयो । ‘१५ वर्षअघि ११ जना विद्यार्थीलाई छात्रवृत्ति बाँडेर शुरु भएको समाजसेवी मार्गरेटको छात्रवृत्ति कार्यक्रम अहिले विस्तार भएर ५३ जनामा पुगेको छ’—प्रधानाध्यापक बस्नेतले भन्नुभयो ।
यस्ता विद्यार्थी थपिएमा उहाँले आफ्ना जर्मनी मित्रहरुसंग अनुरोध गरि छात्रवृत्ति कार्यक्रमलाई अझ बढाएर लैजाने मार्गरेटको सोच छ । गरीवीको कारण कुनैपनि विद्यार्थीले विचैमा पढाई छोड्न नपरोस भन्ने मार्गरेटको भनाई रहेको पनि प्रधानाध्यपक बस्नेतले बताउनुभयो ।
मार्गरेट र उनका सहृदयी जर्मन मित्रहरुको सहयोगबाट सो विद्यालयमा यसअघि करीव ११ लाख रुपैयाँको लागतमा सोलार सिस्टम जडान गरिदिएकी थिइन, जसबाट प्रोजेक्टर, १० वटा कम्प्युटर, प्रिन्टर, फोटोकपि मेशीन र टेलिभिजन सञ्चालन हुँदै आएको छ । अनि विद्यालयका २२ वटा कोठामा सोलार बत्ति बल्छ ।
त्यतिमै मार्गरेटको सहयोग सीमित छैन, उनले सो विद्यालयमा अध्यापन गराउने ७ जना नीजि स्रोतका शिक्षकका लागि मासिक तलवको पनि व्यवस्था गरिदिएकी छन् । ७ जना नीजिस्रोतका शिक्षक बाहेक विद्यालयमा १ जना मावि शिक्षक,४ जना प्रावि र ४ जना राहत गरि अरु ९ शिक्षक कार्यरत रहेका छन् । विद्यालयमा हाल २०६ जना विद्यार्थी अध्ययनरत छन् ।
मार्गरेटले यसपालि श्री सेतीदेवी मावि र आसपासका ५३ विद्यार्थीलाई छावृत्तिमात्रै दिइनन, २०७२ बैशाखको विनाशकारी भूकम्पमा परि घरबार गुमाएका नगरकोट पारी काभ्रेको बालुवापाटी देउपुर गाविसको तितेकाभ्रेका १५ घरधुरीका वासिन्दालाई राहतस्वरुप जनही ५० हजार रुपैयाँका दरले ७ लाख ५० हजार रुपैया पनि सहयोग गरीन । विद्यार्थीलाई छात्रवृत्ति र भूकम्पपीडितलाई राहत गरी यसपालि ११ लाख रुपैयाँ वितरण गरेको मार्गरेटले बताइन् ।
शिक्षासेवी एव्म समाजसेवी मार्गरेट र उनका मित्रहरुको नियमित सहयोगले फर्पिङ्ग क्षेत्रका थुपै्र वालवालिकाले पढ्न पाएको फर्पिङ्ग माविका सहायक प्रधानाध्यापक अमृतमान श्रेष्ठले बताउनुभयो ।
Comments