समाचार

आज महाशिवरात्रि, देशभरका शिवालयमा घुइँचो

काठमाडौँ– आज महाशिवरात्रि, बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । बिहान साढे २ बजेदेखि भक्तजनहरू पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
विहान करिब साढे ३ बजेदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हो । दर्शनका लागि साढे ३ बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपतिनाथको पूर्व ढोका भने साढे ७ बजेपछि खुल्ला गरिएको थियो ।
महाशिवरात्रिका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र ४ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ । महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले फागुन ११ गतेदेखि नै पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् । यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था भने खारेज गरेको छ ।

साढे ६ हजार सुरक्षाकर्मी परिचालन
पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष १३ लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए । 
महाशिवरात्रिका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, दुईहजार पाँचसय सशस्त्र प्रहरी र चारसय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको हो ।