समाचार

क्षयरोग केन्द्रको निर्देशक नियुक्ति गर्न मन्त्रालयमा आर्थिक चलखेल

काठमाण्डौ-  दुई हप्तादेखि कार्यालय प्रमुख वीहिन भएको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा नयाँ प्रमुख नियुक्ति गर्न स्वास्थ्य मन्त्रालयमा ठुलै आर्थिक चलखेल भईरहेको केन्द्रका कर्मचारीहरुले आरोप लगाएका छन् । मन्त्रालयले केन्द्रका यसअघिका निर्देशक डा।विकास लामिछानेलाई आर्थिक अनियमितताको कारण गत माघ २३ गते आइतबारदेखि केन्द्रबाट वालस्वास्थ्य महाशाखामा सरुवा गरेपछि सो पद रिक्त रहेको हो ।
केन्द्रमा १०औं तहका वरिष्ठ छातिरोग विशेषज्ञ कार्यरत रहँदा रहँदै पनि क्षयरोगको वारेमा शुन्य ज्ञान भएका कान्त वाल अस्पतालका वालरोग विशेषज्ञ डा।आरपि विक्षालाई केन्द्रको प्रमुख बनाएर ल्याउन स्वास्थ्यमन्त्री गगन थापा, केन्द्रका यसअघिका निर्देशक डा।लामिछाने र उनको समूह, केन्द्रीय कारागारका डा।केदार नरसिंह केसीलगायतको समूह लागेको क्षयरोग केन्द्रका कर्मचारीहरुले बताएका छन् ।
केन्द्रमा कार्यरत ४६ जना चिकित्सक, प्राविधिक तथा प्रशासनका कर्मचारीमध्ये ४२ जनाले केन्द्रको प्रमुखमा सोही केन्द्रमा कार्यरत डा।मोहन प्रसाईलाई नियुक्त गर्न सामुहिक हस्ताक्षर सहित माघ २४ गते सोमबार स्वास्थ्य मन्त्रालयमा डेलिगेशन गएतापनि आर्थिक लेनदेनका कारण मन्त्री थापा भने डा।विक्षालाई नै निर्देशकको रुपमा नियुक्त गर्ने तयारीमा लागेको बताइन्छ । केन्द्रका कर्मचारीहरुले मन्त्री थापा, राज्यमन्त्री तारामान गुरुंग र स्वास्थ्य सचिव डा।सेनेन्द्रराज उप्रेतीलाई भेटेर केन्द्रमा छातीरोग विशेषज्ञलाई मात्रै निर्देशक नियुक्ति गर्न सुझाव दिएका थिए ।
‘यहाँ ठुलो आर्थिक चलखेल भएको हामीले गन्ध पाएका छौं’—काँग्रेस निकट केन्द्रका एकजना अधिकृतले भने । ‘यदि कार्यक्रम नबुझेका र क्षयरोग या छातीरोग विशेषज्ञ भन्दा बाहिरको कर्मचारीलाई केन्द्रको निर्देशक बनाएर पठाइयो भने हामी त्यसको डटेर विरोध गर्छौं’ उनले भने ‘त्यसको जिम्मा मन्त्री थापाले लिनुपर्छ ।’ केन्द्रका कर्मचारीहरुका अनुसार डा।विक्षा केन्द्रको निर्देशक बन्नका लागि ५० लाख खर्च गर्न समेत तयार भएको बुझिएको छ ।
केन्द्रका निर्देशक अन्यत्रै सरुवा भएर गएपछि केन्द्र यतिखेर प्रमुखवीहिन अवस्थामा रहेको छ । जसका कारण केन्द्रबाट मुलुकभरीका डट्स उपचार केन्द्र, उपकेन्द्रलगायत डट्सप्लस केन्द्रहरुमा पठाइने क्षयरोगको औषधिमा समेत प्रत्यक्ष असर परिरहेको छ भने राष्ट्रिय क्षयरोग कार्यक्रम लथालिंग भएको छ ।