काठमाडौं– फेब्रुअरी–१४ तारिक प्रेमी–प्रेमिकाहरुका लागि विशेष दिन, भ्यालेनटाइन डे अर्थात प्रणय दिवस । विश्वका करोडौं मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गर्दैछन् ।
कोही आफ्नो श्रीमानसँग डिनरका लागि रेष्टुरा जादैछन त कोही आफ्नो प्रमिकासँग विभिन्न स्थानमा आयोजित भ्यालेनटाइन डे को कार्यक्रममा सहभागी हुदैछन । भ्यालेन्टाइनकाको प्रसिद्धि युरोपमा मात्र सीमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ ।
विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रुपमा मनाउने भ्यालेन्टाइन डे ले विश्वव्यापी मान्यता पाएको र नेपाली समाजमा समेत यसले जरो गाडिसकेको छ । अहिले त झन देश र संस्कृतिको सीमा छिचोल्दै नेपाली युवामाझ पनि भ्यालेन्टाइनले लोकप्रियता पाएको छ । प्रेमी प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा समेत युवा पुस्ताले लिन थालेका छन् ।
यस दिन राखिएका प्रेम प्रस्तावलाई प्रेमी वा प्रेमीकाले सहजै इन्कार गर्न सक्दैनन भन्ने उनीहरु मान्यता राख्छन् ।
रोमियो जुलियट, लैला मझलु र सारजहा मुमताज जस्ता प्रसिद्ध प्रेमकहानीहरुलाई स्मरण गर्दै आफ्नो प्रेमकहानी पनि यस्तै दीगो र भविष्य उज्ज्वल रहोस् भनेर कामना पनि गर्ने गरिन्छ ।
भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदान प्रदान गर्ने चलन रहिआएको छ । यसलाई शान्ति, प्रेम, मनोभावना र ममताको प्रतीकको रुपमा लिइन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो । गुलाबी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ ।
भ्यालेन्टाइन डे पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राटको निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो– अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।
त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरु तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।
Comments