काठमाडौं– लामो विवाद र प्रतिक्षापछि जयबहादुर चन्द प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका छन्। आइबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो बरियताका चन्दलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो। पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई छाडेर तेस्रो बरियताका चन्दलाई आईजीपी बनाइएको हो।
चन्दलाई आईजीपी बनाउनका लागि सत्तासाझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निकै जोडबल गरेका थिए। अन्तिम समयसम्म पनि बरियताको आधारमा नियुक्तिको पक्षमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देउवाको अडानसामु अन्तत: पछि हट्न बाध्य भए। लागुऔषध ब्यूरो प्रमुखको जिम्मेवारीमा रहेका चन्द २०४४ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट सेवा प्रवेश गरेका चन्द अनुसन्धानमा पोख्त मानिन्छन्।
बरियताका आधारमा नै आईजीपी नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट परेपछि अदालत नखुल्दै मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिको निर्णय गरिएको हो। सर्वोच्चमा सो रिट माथिको सुनुवाई आइतबारकै लागि तोकिएको छ।
सशस्त्रमा सिंहबहादुर श्रेष्ठ
मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरी प्रमुखका लागि तीन श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार थिए । शसस्त्र प्रहरीका प्रमुख दुर्जकुमार राईको कार्यकाल चैतमा सकिँदैछ ।
Comments