मनोरंजन

कलाकार स्व. स्वारको नाममा १५ हजार राशीको पुरस्कार

कैलाली, माघ । नेपाली कथानक चलचित्रहरु जुनी, जीवन रेखा लगायतमा सफल चरित्र अभिनेताको भूमिका निभाएका कलाकार स्व.बलमान सिंह स्वारको नाउँमा उनकी बहिनी प्रा.सुश्री इश्वरी स्वारले १५ हजार रुपैयाँ राशीसहितको बलमान सिंह सेवा पुरस्कार स्थापना गरेकी छिन । 
एकलाख रुपैयाँको अक्षयकोष स्थापना गरी शुरु गरिएको सो पुरस्कारमा नगद १५ हजार, पदक र प्रमाणपत्र रहेको छ । आफ्नो पेशाप्रति दत्तचित्त र इमान्दार भई काम गर्ने पहलमान सिंह मेमोरियल विद्यालय कैलालीका एकजना शिक्षकलाई प्रदान गर्ने गरी सो पुरस्कार स्थापना गरिएको हो । कलाकार स्व.स्वार सो विद्यालयको संस्थापक अध्यक्ष थिए । उनको २०६९ असार १९ गते निधन भएको थियो । हरेक दुई÷दुई वर्षमा उत्कृष्ट शिक्षकलाई प्रदान गर्ने गरि सो पुरस्कार स्थापना गरिएको सो विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष समेत रहेकी प्रा.स्वारले बताएकी छिन ।
पुरस्कार स्थापनाको पहिलो वर्ष पहलमानसिंह मेमोरियल मावि अम्बासा—५ कैलालीका शिक्षक प्रेमप्रसाद जोशीलाई सो पुरस्कार प्रदान गरिएको छ । कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्ट तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.स्वारले नगद तथा प्रशंसापत्र सहितको सो पुरस्कार विद्यालयको ३२ औं वार्षिकोत्सवका अवसरमा शिक्षक जोशीलाई प्रदान गरेका थिए ।
यसैगरी विद्यालयमा २९ वर्ष अध्यापन गरेका अर्का शिक्षक प्रेमप्रसाद सुवेदीलाई दीर्घ सेवा पदक पनि प्रदान गरियो । यसका साथै विद्यालयमा स्थापना गरिएको मनोरमा—पहलमान छात्रवृत्ति, पदम—इन्दु स्वार छात्रवृत्ति, त्रिपुरा—भोजराज स्वार छात्रवृत्ति, लोकराज स्वार छात्रवृत्ति र इला—सुशिला स्वार छात्रवृत्ति पनि प्रदान गरियो । विद्यालयको ३२ औं वार्षिकोत्सवकै अवसरमा शिक्षासेवी पुष्कर बम तथा विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद जोशीले जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई नगदसहितको ती छात्रवृत्ति वितरण गरेका थिए ।
विद्यालयमा चालु शैक्षिक सत्रदेखि कक्षा ६ सम्म अंग्रेजी माध्यमबाट पढाई भईरहेको उल्लेख गर्दै यसैपालिदेखि वनस्पति विज्ञानमा प्राविधिक एसएलसीको पढाई शुरु गरिएको विद्यालयका प्रधानध्यापक नारायणसिंह मेहराले बताए ।