समाचार

न्यूयोर्कमा तामाङ समुदायको वृहत्त सम्मेलन हुँदै

सोनाम ल्होछार भव्यरुपमा मनाइयो

न्यूयोर्क– ‘तामाङ सोसाइटी अफ अमेरिका’ले न्यूयोर्कमा सोनाम ल्होछार भव्यरुपमा मनाएको छ । हरेक माघ–१५ मा मनाइने सोनाम लोसारलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउँछन् । अमेरिकामा रहेका तामाङ समुदायले पनि ल्होछारको अवसरमा बृहत् सास्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको शुभकामना आदनप्रदान गरे ।

मौलिक लोक संस्कृति झल्किने पोसाकमा कलाकारहरुले आफ्नो प्रस्तुति दर्शकमाझ पस्केका थिए । कार्यक्रममा अमेरिकामा रहेको तामाङ समुदायका व्यक्तित्वहरुका साथै नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमबाट संकलित रकम तामाङ कल्चर सेन्टरको भवन निर्माणमा खर्चिने सोसाइटीले जानकारी दिएको छ ।

यसैबीचर ल्होछारको पूर्वसन्ध्यामा भएको उत्तर अमेरिकी तामाङ सम्मेलनको बैठकले आगामी मे २० र २१ तारिखका दिन न्यूयोर्कमा वृहत सम्मेलनको आयोजना गर्ने  निर्णय गरको छ । तामाङ  सोसाइटी अफ अमेरिकाको पहलमा भएको उत्तर अमेरिकी तामाङ सम्मेलनको बैठकले वृहत सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । जसका लागि तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्त थोकरको अध्यक्षतामा ५१ सदस्यीय तयारी समिति समेत गठन गरी तीव्र तयारी थालिएको छ ।

त्यस्तै, बैठकले तामाङ समुदायको हक हितकालागि अन्य महत्वपूर्ण निर्णयहरु पनि गरेको छ । जस अन्तर्गत हाल न्यूयोर्कमा मात्र केन्द्रित रहेको तामाङहरुको संस्था ‘तामाङ सोसाइटी अफ अमेरिका’लाई विस्तार गरी विभिन्न राज्यमा च्याप्टर गठन गर्ने निर्णय गरेको हो । उक्त साझा संस्थाको नामा ‘तामाङ सोसाइटी अफ अमेरिका’ नै राखिने सोसाइटीका अध्यक्ष शान्त थोकरले बताए ।

कार्यक्रमा अध्यक्ष थोकरले भने ‘तामाङ सोसाइटी अफ अमेरिकालाई छाता संस्थाको रुपमा विस्तार गरिँदा अमेरिकामा रहेका तामाङहरूमाझ मात्र नभएर यसको प्रभाव विश्वभर रहेका तामाङलाई एउटै संस्थामा आवद्ध गर्न उर्जा मिल्नेछ ।’ साझा संस्थाको अवधारणाले मौलिक कला संस्कृतिको जगर्नेमा हुनुका साथै मुलुकका लागि पनि एकीकृत रूपमा योगदान दिन सकिने अध्यक्ष थोकरले बताए । उक्त बैठकमा अमेरिका र क्याडना गरी विभिन्न १३ राज्यका ५४ जना प्रतिनिधिको सहभागिता रहेको थियो । सहभागीहरुले सोसाइटीलाई साझा संस्थाको रुपमा विस्तार गरिने निर्णयको स्वागत गरेका थिए ।