न्यूयोर्क– अमेरिकाका नयाँ राष्ट्रपतिको विरोधमा अमेरिका तथा विश्वभर सडकमा जनसागर उत्रिएको छ । अमेरिकाको विभिन्न शहरका मात्र नभएर विश्वभर ट्रम्प विरुद्ध सडकमा प्रदर्शन भएको हो । ट्रम्पको विरोधमा विश्वभर ६ सय भन्दा धेरै र्याली निकालियो । महिला अधिकारी रक्षाका लागि र्याली भएको अधिकारकर्मीले बताएका छन् । ट्रम्पको शासनकालमा महिला अधिकार हनन हुने र महिलामाथि यौनसहितका विभिन्न खालका हिंसाका घटना बढ्न सक्ने देखिएको र त्यसप्रति विश्व समुदायलाई सचेत तथा ध्यानाकृष्ट गर्न र्याली गरिएको आयोजकले जनाएका छन् ।
अमेरिकाको राजधानी वासिङटनमा भएको प्रदर्शनमा सबैभन्दा धेरै सहभागी थिए । वासिङटनको विरोध र्यालीमा पाँच लाख भन्दा धेरै मानिस सहभागी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । वासिङटनको र्यालीमा दुई लाख जना मात्रै सहभागी हुने अपेक्षा गरिएको थियो । वासिङटनमा भएको महिला मार्चमा सहभागीको संख्या ट्रम्पको शपथ ग्रहण समारोहमा भएको सहभागिता भन्दा पनि धेरै रहेको दाबी गरिएको छ । वासिङटनको र्यालीमा विभिन्न क्षेत्रमा प्रवुद्ध व्यक्तिको पनि सहभागिता थियो । यस्तै सिकागोमा भएको र्यालीमा डेढ लाख भन्दा बढी सहभागी भएका छन् । बेलायतसहितका विश्वका अरु देशमा पनि ट्रम्पको विरोधमा प्रदर्शन भएको छ ।
ट्रम्पले भने शनिबारको प्रदर्शनहरुबारे भने केही प्रतिक्रिया दिएका छैनन्। वासिङ्टनको प्रदर्शनमा अपेक्षा गरिएका भन्दा बढी मानिसको सहभागिता रहेको थियो । प्रदर्शनमा कलाकार स्कारलेट योहानसन, ग्लोरियस स्टाइनम, एस्ले जडदेखि अभियानकर्मी माइकल मुरलगायत अन्यले सम्बोधन गरेका थिए । भाषणका क्रममा माइकल मुरले वासिङ्टन पोष्ट पत्रिकाको ‘ट्रम्पले सत्ता लिए’ भन्ने शीर्षक देखाउँदै उनले, आफूलाई ट्रम्पले शक्ति लिएको भन्ने नलाग्ने बताए।
उनले ‘शक्ति हामीसँगै छ। हामी भेला भएको यही ठाउँमा अमेरिकाको बहुमत छु भनेका थिए। ह्वाइट हाउससम्म र्याली गर्न गरिएको योजना भने मानिसहरुको भीडले पुरै मार्ग भरिएकाले असम्भव भएको थियो। यसबिच ट्रम्पसँग पराजित भएकी डेमोक्रेटिक पार्टि तर्फकी उम्मेदवार हिलरी क्लिन्टनले ट्वीट गर्दै आफ्ना मूल्य मान्यताका लागि आवाज उठाएकोमा ¥याली आयोजकलाई धन्यवाद दिएकी छन्। उनले सबै मिल्दा बलियो भइन्छ भन्नेमा आफूले साँच्चिकै विश्वास गर्ने बताएकी छन्।
यसैबीच, ट्रम्पले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो दिनमा केन्द्रिय गुप्तचर संस्था सिआइएको मुख्यालय भ्रमण गरे। उनले खुफिया संस्थाका कर्मचारीको समर्थनमा आफू एक हजार प्रतिशत रहेको बताएका छन्। उनले आफ्नो शपथ ग्रहणको कार्यक्रममा उपस्थिति जनाएको भीडको संख्याबारे समाचार दिँदा सञ्चारमाध्यम इमानदार नभएको आरोप पनि लगाएका छन्।
९ माघ २०७३ ।
Comments