समाचार

चैत्रमा चुनाव हुन सक्दैनः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं–  प्रमुख निर्वाचन आयुक्त डा= अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन–कानूनहरु दिए मात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा यादवले अब चैत्रमा चुनाव हुन नसक्ने दाबी गरेका हुन् । उनले भने, 'अहिले स्थानीय तहको निर्वाचनको बारेमा कसैले चैत्रमा चुनाव हुने भनेका छन्, कसैले बैशाखमा भनेका छन्, त कसैले जेठमा गर्ने कुराहरु आईरहेका छन्, आयोग अचम्मित बनेको छ।'

बैशाख २८/२९ गते देखि जेठको पहिलो हप्तासम्म निर्वाचन सकिने उनले बताए। आयोगले अहिले पूरानै ऐन तथा कानूनहरु अनुसार काम गरिरहेको समेत जनाए।

प्रमुख आयुक्त डा. यादवले स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्ने समेत बताए। उनले भने, ‘स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्छ, दुई वा तीन चरणमा गर्नुपर्छ, त्यसको लागि सूरक्षा निकायहरुसँग समन्वय गर्नुपर्छ।’ उनले दलीय सहमति वा रानीतिक समझदारी भए प्रतिनिधि सभाको निर्वाचनपनि गर्न आयोग तयार रहेको स्पष्ट पारे।

डा. यादवले भने,‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्छ, आयोगले प्रतिवेदन दियो भने र १६५ वटै निर्वाचन क्षेत्र निर्धारण भएर अघि बढियो भने आयोगलाई आपत्ति छैन्।’ उनले पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने पनि संभव रहेको बताए। दुवै निकायको चुनाव एकैचोटि गर्न संभव भएपनि प्राविधिक रुपमा समस्या हुने उनको भनाई थियो।

यादवले विस २०७० सालको संविधान सभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता छ महिनाभित्र स्थानीय निकायको निर्वाचनको गराउने थियो त्यो हुन नसक्नु दुःखद भएको टिप्पणी गरे।

उनले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदान स्थल, मतदान, मतपरिणाम, मतपेटिका, मसलदन्द, मानव संशाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको बताए। उनले भने,“सरकारले निर्वाचनको बाटो बनाए हामी अहोरात्र खटेर काम गर्न तयार छौँ, हामीले तीन चार दिन अलि बढी नै खट्दा हुन्छ भने हामी तयार छौं।’