काठमाडौं– महासम्बोधी गुरु धर्म संघ (रामबहादुर बम्जन)बाट विश्वशान्ति मैत्रीपूजा एवम् महादर्शन कार्यक्रम हुने भएको छ । ललितपुरको बुङमतीमा आगामी चैत्र ८ गतेदेखि २० गतेसम्म विश्व शान्ति तथा महादर्शन कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा विश्वभरका भक्तजनहरुको ठूलो मात्रामा सहभागिता रहनेछ । विश्व शान्ति एवम् महादर्शन कार्यक्रममा उपस्थिति भई गुरुबाट आशिर्वाद लिई पुण्य लाभ लिनुहुन भक्तजनहरुमा बोधी श्रवण धर्म संघका अध्यक्ष निलबहादुर थिङले अनुरोध गर्नुभएको छ । यो कार्यक्रम लगत्तै महासम्बोधी गुरु धर्म संघ विश्वका विभिन्न १६३ वटा देशको निमन्त्रणामा विश्व भ्रमणमा जानुहुने कार्यक्रम रहेको छ ।
महासम्बोधी गुरु धर्म संघले २०६२ जेठ देखि बारा जिल्लाको रतनपुरी गाविसको जंगलमा ९ महिना निराहार तपस्या गर्नुभएको थियो । त्यसपछि गुरुले ६ वर्षसम्म यसलाई बारा जिल्लाकै हलखोरिया जंगलमा निरन्तरता दिई सर्वज्ञान गुणको बोध प्राप्त गर्नुभएको हो । उहाँले सोही स्थानमा प्रथम धर्मदेशना पनि दिनुभएको थियो । यो ज्ञान प्राप्त गरेपछि रामबहादुर बमजनको नाम ‘महासम्बोधी गुरु धर्म संघ’ रहन गएको हो । कठोर तपस्या पश्चात सर्वज्ञान गुणको बोध प्राप्त गरेपछि बोधीमार्ग गुरु, मार्ग गुरु र गुरु मार्ग गुरुहरुले सो आध्यात्मिक नामाकरण गराइदिएका हुन् ।
२८ पुस २०७३ ।
Comments