समाचार

सुन काण्डमा भन्सारका दुई अधिकृत पक्राउ

काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको ३३ किलो सुन काण्डमा संलग्न रहेको आशंकामा विमानस्थल भन्सारका दुई अधिकृत पक्राउ परेका छन्। उनीहरुलाई केन्द्रीय अुनसन्धान ब्युरो (सिआइबी)ले बिहिबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा अधिकृतद्वय राजकुमार ढकाल र श्रीनारायण यादव रहेका छन्। उनीहरुलाई सुन तस्करीमा सम्लग्न भरियाले दिएको बयानका आधारमा पक्राउ गरिएको हो। त्यस्तै ३३ किलो अवैध सुन बरामत भएपछि भन्सार कार्यालयले त्यहाँ कार्यरत २९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको छ। साथै सुनकाण्डको छानबिन गर्न विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरिएको छ।

गत शुक्रबार बाँकेका गोपालबहादुर शाहीको लगेजबाट ३३ किलो सुन बरामत भएको थियो। उनी दुवईबाट आएका थिए। ठूलो परिमाणमा सुन तस्करी भएको पाइएपछि एसपी मिरा चौधरीको नेतृत्वमा प्रहरी टोली परिचालन भइरहेको बताइएको छ।

२७ पुस २०७३ ।