समाचार

प्रेमवादको दमकमा दुःखहरण पूजा (फाेटाे फिचर)

झापा– झापाको दमकमा प्रेमवादको दुःखहरण पूजा सम्पन्न भएको छ । हरेक अंग्रेजी नयाँ वर्षको पहिलो दिन दुःखहरण पूजा गर्ने गरिन्छ । दुःखहरण पूजाको उपराष्ट्रपति नन्द किशोर पुनले उद्घाटन गर्नुभएको हो ।
प्रेमवादले गरेको उक्त दुःखहरण पूजामा पूर्वी नेपालका एक लाखभन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो । त्यस्तै, विभिन्न देशबाट आएका प्रतिनिधिहरुले पनि कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा गुरु ऊँनन्दद्वारा लिखित अंग्रेजी किताब उपराष्ट्रपति पुनले विमोचन गर्दै भन्नुभयो–‘प्रेमवादले उठाएका अभियानहरु विश्व शान्तिको लागि हुन् भन्ने बुझेको छु, यसले संस्कार र धर्मगत रुपमा पछि पारिएका छोरीचेलीहरुको न्यायिक उद्धार, संस्कारमा सुधार, अनाथ र बृद्धाहरुको लागि लभिङहोम नामले अनाथलयहरु सञ्चालन गर्नुका साथै सर्वधर्मको सिद्धान्तको अनुसरण जस्ता सर्वहितायका कार्य गरेको अनुभूति भएको छ ।’

उहाँले भन्नुभयो–‘प्रेम नै धर्मदर्शनहरुको सार हो ।  अतः प्रेमवादले अघि सारेका मुद्धा प्रशंसनीय छन् ।’ प्रेमवादका दार्शनिक गुरु ऊँनन्दबाट सदाझैँ बिहान ५ बजेर ७ मिनेटमा मुख्य दियो बाल्नु भई पूजाको शुभारम्भ गर्नुभएको थियो । उहाँले सारा चराचर जगतको कल्याणार्थ र मंगलार्थ पूजा र प्रार्थना गर्नुभएको थियो ।

कार्यक्रममा गायत्री मन्त्र, बुद्धिस्ट मन्त्र, इस्लाम मन्त्र लगायत अरु विभिन्न धर्मावलम्वीका भजन गाइएको थियो । पूजाको मुख्य केन्द्र निहिनमा धेरै सम्प्रदायका गुरुहरु मिलेर आफ्नो आफ्नो शास्त्रहरु पढेका थिए । पण्डितहरु, लामाहरु, किरात धर्म सेवासभाहरु, इस्लामका पादरीहरु, जापानीज ननहरु लगायत ब्रम्हाकुमारी, कृष्ण प्रणामी आदि गुरुहरुले आ–आफ्ना  शास्त्रहरुको वाचन गरेका थिए ।

गुरु ऊँनन्दले कार्यक्रममा भगवानको सर्वव्यापकताका विषयलाई सरल भाषामा केही बुँदागत रुपमा व्याख्या गरेका थिए ।
१. प्रेमवाद दर्शनले सवै धर्मलाई आफ्नै धर्मको रुपमा हेर्छ ।
२. पशुप्राणीको बलिप्रथा ईश्वर वा पूर्खाहरुको चाहाना हैन । बलि गर्नु महापाप हो ।
३. सबैभन्दा मान्छेको दुश्मन, शैतान नभएर आफ्नै अहंकार हो । अहंकारलाई दवाउन साँचो प्रेम चाहिन्छ । साँचो प्रेमले अहंकार, रीस, दुश्मनभाव आदिलाई हिउँलाई घामले पगाले जसरी पगाल्छ ।
४. प्रेमवादले सेवाको मार्गलाई विशेष स्थान दिएको छ ।
५. सबैको मंगल नै प्रेमवाद हो ।

कार्यक्रममा ऊँनन्द गुरुले अन्तिम वाणी कवितात्मक लयमा पस्किएको थियोः

प्रेमले संसारै ढाकोस्, प्रेमकै कुरा होस् जताततै
समाज प्रेमकै निर्माण होस्, दुष्टभाव नहोस् कहीँ कतै
चारैतिर खुशीको फूल फूलोस्, नहोस् कसैलाई दुःख पीर
प्रेमको झण्डा फरफरिई, मूल फुटोस् शान्तिको, सबैतिर ।

प्रेमकै कानले सुन्न सकुँ, प्रेमकै आँखाले देख्न सकुँ
प्रेमकै पाइला चाल्न सकुँ, प्रेमकै बोली बोल्न सकुँ
लोभ पाप दुष्टभावलाई, पे्रमकै भावले मेट्न सकुँ
प्रेमकै पूजाको प्रसाद बनी, बाँकी जीवन जिउन सकुँ ।

प्रेममा कसैको न जित छ, प्रेममा न कसैको हार
प्रेम नै सव धर्मको सार, प्रेम नै हो जीवनको आधार   
प्रेमको फूल फुल्दछ जहाँ जहाँ, शान्ति फक्रिन्छ त्यहाँ, त्यहाँ
प्रेम नै हो मार्गमुक्तिको, पे्रम नै हो बाटो भगवान कहाँ ।