समाचार

ज्ञवालीको दोस्रो पटक बुझाए स्पष्टीकरण

काठमाडौं– पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना् स्पष्टीकरण पेस गरेका छन्। सरकारले अघिल्लो पटक बुझाएको स्पष्टीकरणमा चित्तबुझ्दो नभए भन्दैे गत बिहीबार पुनः दोस्रो पटक उनीसँग स्पष्टीकरण सोधेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेशकुमार थपलियाले कार्यकारी अधिकृत ज्ञवालीले स्पष्टीकरण पत्र बुझाएको जानकारी दिए। ज्ञवालीको स्पष्टीकरण पत्रमा विभिन्न निकायको समन्वय, अनुदान वितरण, पुनर्वासलगायत विषय समेटिएको बताइएको छ।
सचिव थपलियाले स्पष्टीकरण पत्र आफूले बुझेर मुख्य सचिव डा सोमलाल सुवेदीलाई समेत बुझाइसकेको बताए। भूकम्पपछिको पुनर्निर्माणको काम चित्तबुझ्दो नभएको जनाउँदै सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो। भूकम्पपीडित जनताले प्रभावकारी रुपमा राहत नपाएको, पुनर्निर्माणको कामले गति लिन नसकेको र प्राधिकरण भूकम्पपीडित जनतालाई सेवा दिनुभन्दा पनि साना मसिना काममा मात्रै केन्द्रित भएको जस्ता आरोप लाग्दै आएको थियो।