समाचार

कसरी रातो नम्बर आतंकको भ्रम फैलियो ?

काठमाडौं– सामाजिक सञ्जालमा ‘रातो नम्बर’बाट फोन आएको भन्दै अफवाह फैलाएको आरोपमा गायिका प्रश्न्ना पाण्डे र गायक दीपक बराइलीलाई प्रहरीले पक्राउ गरेको छ। मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्विटरमा प्रचार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो।
गायिका पाण्डेले आफूलाई रातो नम्बरबाट एनसेलको नम्बरमा फोन आएको भन्दै फेसबुकमा ‘स्टाटस’ राखेकी थिइन्। जुन स्टाटसका आधारमा विभिन्न अनलाइनमा समेत नकारात्मक समाचार आएको थियो। तर, प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनको नम्बरमा रातो नम्बरबाट फोन नआएको भेटिएको थियो।  सोही क्रममा गायक बराइलीले गुगलबाट एप्स डाउनलोड गरी फोन गर्दा रातो नम्बर देखिने बनाएको तथ्य खुलेपछि ब्युरोले बराइलीलाई पक्राउ गरेको हो। 
यसैबीच, ब्युरोले रातो नम्बरको अफवाहमा नपर्न र यस्तो हल्ला नफैलाउन सबैसँग आग्रह गरेको छ। ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले रातो नम्बरबाट फोन आउने र उठाउँदा ज्याने जान सक्ने, स्वास्थ्यलाई खराबी हुने, मोबाइल पड्किने भन्ने जस्ता अफवाह फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गरे। गायिका पाण्डे र गायक बराइलीले आफूहरुले गल्ती गरेको स्वीकार गर्दै सजाय भोग्न तयार रहेको बताएका थिए। ब्युरोले बीहिबार हाजिर हुन आउने गरी उनीहरुलाई रिहा गरेको छ।