समाचार

महत्वपूर्ण खेलमै पराजित हुन्छ नेपाल

काठमाडौं– महिला साफ च्याम्पियनसिप अन्तर्गतको सेमी फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ। तीन गोलले पराजित भएसँगै नेपाल खेलबाट बाहिरिएको छ। खेलको ४४औं मिनेटमा भारतका लागि कमला देवीले गोल गरिन्। थपिएको एक मिनेटमा दुवै पक्षबाट गोल हुन सकेन।
दोस्रो हाफमा ५८औं मिनेटमा भारतका लागि बिन्दूमतिले अर्को गोल गरेकी छन्। यसपछि नेपालले ७५‍औं मिनेट पाएको पेनाल्टीलाई गोलमा परिणत गर्‌यो। सावित्रा भण्डारीले नेपालका लागि गोल फर्काएकी थिइन्।
५ मिनेट समय बाँकी रहँदा भारतले पाएको कर्नर बल रोक्न नसक्दा ३–१ को परिणाम नेपालले बेहोर्न बाध्य भयो। यसअघि नेपालले श्रीलंकालाई १–०, माल्दिभ्सलाई ९–० र भुटानलाई ८–० गोल अन्तरले पराजित गरेको थियो। समूह विजेता बन्दै सेमी फाइनल पुगेको नेपालका लागि सावित्रा भण्डारीले उत्कृष्ठ प्रदर्शन गरेकी थिइन्। आत्मघाती गोलमार्फत् श्रीलंकालाई पराजित गरेपनि अरु दुई देशविरुद्ध शानदार जित हासिल गरेको थियो।